
पाल्पा । तानसेन नगरपालिकाको दरबार परिसरमा ढुंगा विछ्याउने ठेक्काको म्याद सकिएपनि काम भने अलपत्र परेको छ ।
पाल्पा दरबारलाई सुन्दर बनाउने र विश्वसम्पदा सुचिमा परेकाले थप व्यवस्थापनका लागि नगरपालिकाले फिल्मी शैलीमा दरबार परिसरका घरटहरा हटाएको थियो । दरबार परिसरका ५७ घरटहरा हटाउँदा नगरपालिकाको जुन उत्साह थियो, अहिले त्यही भत्केको स्थानमा ढुंगा टाल्ने काम कछुवा गतिमा अघि बढ्दा स्थानीय नागरिकमा निराशा छाएको छ ।
पाल्पा दरबार परिसरका टहरामा डोजर लगाउँदा स्थानीय व्यक्ति, व्यापारी, सञ्चारकर्मीलगाएत सबैले नगरपालिकाले राम्रो काम गरेको भन्दै प्रसंसा गरेका थिए तर अहिले नगरपालिकाले पाल्पा दरबारलाई राम्रो बनाउन अन्य व्यवस्थापन गर्नु त कहाँ हो कहाँ ? भत्केको ठाउँमा ढुंगा टाल्ने काम समेत समयमा गर्न नसक्दा प्रश्न गर्ने गरेका छन् । पाल्पा दरबार संग्रहालय राष्ट्रिय सम्पदाको सुचिमा परेपछी त्यसको सुन्दरताका लागि तानसेन नगरपालिकाले डोजर लगाएको थियो ।
दरबार परिसरका ५७ टहरामा डोजर लगाएर भत्काईएको थियो । नगरपालिकाले ३५ दिने सुचना निकालेर टहरा खाली गर्न सुचित गरेको थियो । गत बैशाख ४ गते ३५ दिने सुचनाको म्याद सकिएपछी ६ गते बिहान टहरा भत्काउन सुरु गरेको तानसेन नगरपालिकाले ९ महिना सम्म पनि ढुंगा टाल्न सकेको छैन ।
नगरपालिकाले ३ वटा डोजर प्रयोग गरेर टहरा भत्काउने काम गरेको थियो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले ढुंगा ल्याउने श्रोत बन्द भएको भन्दै ठेकेदार कम्पनीले काममा आलटाल गरेको बताउनुभयो । ज्ञवालीले ठेकेदार कम्पनीले पहिला कामलाई प्राथमिकता दिनुपर्ने भन्दै अहिले म्याद थप गर्न नसकिने र पछि कामको आधारमा मुल्यांकन गरिने बताउनुभयो ।
नगरपालिकाले २०८० असार ३ गते एबि विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाण्डौ संग ४१ लाख ६९ हजार ६ सय ४३ रुपैंया ३७ पैसामा २०८० मंसिर ३० गतेसम्म सक्ने गरि ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सामान्य ढुंगा सोलिङ र वालुवा झार्ने काम मात्र गरेको छ ।