पाल्पा । तिनाउ गाउँपालिकामा निशुल्क मोतिविन्दुको अप्रेसन शिविर सञ्चालन हुने भएको छ । पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा तिनाउमा निशुल्क मोतिविन्दुको अप्रेसन शिविर सञ्चालन हुने भएको हो ।
तिनाउ गाउँपालिका वडा नं. २ दोभान स्वास्थ्य चौकीमा यही पौष २१ गते शनिवार शिविर सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले गाउँपालिकाको आयोजनामा यहाँका नागरिकहरुलाई आँखाको समस्याले अन्यत्र टाढा र खर्चिलो अस्पताल जान नपरोस भनी निशुल्क शिविर सञ्चालन गर्न लागेको बताउँदै समस्यामा रहेका नागरिकहरुलाई शिविरमा उपस्थित हुन अनुरोध गर्नुभयो ।
शिविरमा अप्रेसन गर्नु अगावै निशुल्क सुगर र प्रेसरको जाँच गरिने, शिविरको एक दिन अगावै दोभान स्वास्थ्य चौकीमा आएर रगत जाँच गराउन सकिने, मादक पदार्थ सेवन गरेको व्यक्तिलाई सेवा नदिईने, आवश्यक विरामीलाई सामान्य बासको व्यवस्था गरिने, पालोको लागि टोकनको व्यवस्था गरिने, १२ घण्टापछि विरामीको अनिवार्य फलोअप गरिनुपर्नेलगाएतका जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतद्धारा हस्ताक्षरीत सुचनामा भनिएको छ ।
थप जानकारीका लागि नेत्र सहायक रमेश शाहनीलाई ९७४२९९३५५७, ९८१५४५५५३५ र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीलाई ९८४७२४३०८२ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।