
पाल्पा । माथागढी गाउँपालिकाको सराई, एक्लेबर, सिकारकोट, हर्नेटार, खैरेनी मोटरबाटोको कालोआँप सडकखण्ड ढलान हुँदा स्थानीयलाई सहज हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारको ३५ लाख रुपैंया क्रमागत बजेटबाट कालोआँप सडकखण्ड ढलान हुँदा स्थानीयलाई सहज हुने भएको हो । कालोआँप सडकखण्ड ढलान हुँदा मर्मरा, सिकारकोट हुँदै गोठादी सम्मका नागरिकहरुलाई तानसेन जान आधा घण्टा नजिक पर्ने वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले बताउनुभयो ।
नागरिकको मागका आधारमा योजना सञ्चालन गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । नागरिकको मागका आधारमा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको र यसबाट वडा नं. ३, ४ र ५ नं वडाका नागरिकहरुलाई सडकले थप सहज हुने अध्यक्ष चिदीले बताउनुभयो ।
माथागढी गाउँपालिका वडा नं. ३ का उपभोक्ता मान बहादुर विकले सडक ढलान हुँदा सवारी आवागमन, कृषि सामग्री ढुवानीलगाएतमा सजिलो हुने अपेक्षा लिएको बताउनुभयो । विकले आफ्नै क्षेत्रमा सडक स्तरोन्नती हुँदा स्थानीय सरकार घरनजिकै भएको आभाष गरेको बताउनुभयो । “बर्षाको समयमा यस क्षेत्रमा निकै दुख हुन्थ्यो, गाडी फँस्ने, उकालो नतान्ने, धानपराल ल्याउँदा बाटोमै अड्किनु पर्नेलगाएतका समस्याले हैरान बनाउँथ्यो ।” विकले भन्नुभयो, “अव त आनन्द हुने भयो, पहिले पहिले धेरै दुख पाईएको थियो । अव त त्यस्तो समस्या भोग्न पर्दैन कि ।”
माथागढी गाउँपालिका वडा नं. ४ का उपभोक्ता वीर बहादुर रानाले सानो गोरेटो बाट सुरु भएको बाटो ढलान होला भनेर कहिल्यै नसोंचेको बताउनुभयो । रानाले संघीयता आएपछी स्थानीय, प्रदेश र केन्द्र सरकारको पहलमा गाउँमा धेरै काम भएको बताउँदै गाउँका सडक सहज भएपछी यहाँको बढ्दो रुपमा रहेको बसाइँसराई समस्या रोकिने अपेक्षा समेत लिएको बताउनुभयो ।