
पाल्पा । सिकाइ उपलब्धि न्यून रहेको र कक्षा छाड्ने दर उच्च रहेको माथागढी गाउँपालिकामा अंग्रेजी भाषा सुधार्ने ‘सक्षम’ कार्यक्रम अन्तरगत नीतिगत छलफल गरिएको छ ।
पालिकाभित्रका विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार्दै शिक्षण सिकाइ प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको सहयोगमा नीतिगत छलफल गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खेम बहादुर सारुले पालिकाभित्र ग्रामीण भेगमा गुणस्तरीय शिक्षा नपाएकै कारण छोरा छोरी पढाउने नाममा बसाइसराइ बढेको अवस्थामा यो कार्यक्रमले बसाइसराइ रोक्ने बताउनुभयो । सारुले यो अभियानबाट पालिकाभित्रको शिक्षा क्षेत्रमा परिवर्तन आउने अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रम ४० सामुदायिक र ४ संस्थागत विद्यालयमा कार्यान्वयन भएको गाउँपालिकाका शिक्षा संयोजक प्रेम बहादुर बाह्रघरेले बताउनुभयो । गाउँपालिकाले समग्र शिक्षाको तथ्याङ्क संकलन गरी, अध्ययन अवलोकन तथा सरोकारवाला निकायसँग छलफल गरी ३ वर्षभित्र शिक्षाको क्षेत्रमा परिवर्तन ल्याउने गरी सक्षम कार्यक्रम सञ्चालन भएको बाह्रघरेले बताउनुभयो ।
सामुदायिक विद्यालयहरुलाई शिक्षा र व्यवस्थापनमा राम्रो बनाउने, विश्वव्यापी रुपमा बढ्दो अंग्रेजी भाषालाई विशेष प्राथमिकता दिने, सोहीअनुसार विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विषयगत शिक्षकहरुलाई विद्यालय व्यवस्थापन, पठन पाठनको पाठ्यक्रमको लागि बृटिश काउन्सिलले सहयोग गरेको काउन्सिलका लुम्बिनी प्रदेश कोअर्डिनेटर अशेष भट्टराईले बताउनुभयो ।
विद्यार्थीहरु उच्च शिक्षा अध्ययनमा वञ्चित भएको, लोकसेवा आयोगमा अवसर नपाएको, विश्वव्यापी बजारमा बिक्ने अवस्था नरहेको कारण गाउँपालिकाले विद्यालय शिक्षा सुधारको लागि बृटिश काउन्सिलसँगको सहकार्यमा सक्षम कार्यक्रम लागू गरेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । यस कार्यक्रमले माथागढीको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय बनाउन सहयोग पुग्ने अध्यक्ष चिदीले बताउनुभयो ।
सक्षम कार्यक्रमका माथागढी संयोजक लोकेन्द्र थापाले सामुदायिक र संस्थागत विद्यालयहरूको शिक्षामा एउटै गुणस्तर कायम रहने उद्देश्य राखेर कार्यक्रम अघि बढाईएको बताउनुभयो । पालिकाका सामाजिक विकास शाखा संयोजक एवं वडा अध्यक्ष राजकुमार पन्थीले पालिकाको शिक्षाको अवस्था दयनीय भएकोले सबै विद्यालयको अध्ययन अवलोकन गरी, शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले भौतिक पूर्वाधार विकासले मात्र मानव विकास नहुने भएकोले पालिकाले शिक्षा विकासमा पहिलो प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा बृटिश काउन्सिलका भुपेन्द्र लामिछानेले सहजीकरण गर्नुभएको थियो । विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, पत्रकार, शिक्षाविदलगाएत सरोकारवालाहरु छलफलमा सहभागि थिए ।