१२ पौष – माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम काम गरेको छ । गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न योजना तथा कार्यक्रम थप गरि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५ स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पुर्याएको थियो । गाउँपालिकाले आन्तरिक आयको ५० लाख रुपैंया सामुदायिक स्वास्थ्य इकाई स्थापनामा खर्चेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले यस आर्थिक वर्षमा समेत स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले मासिक बैठक तथा डाटा भेरिफिकेसन नियमित गरेको छ । आर्थिक वर्ष ०७९/८० को वार्षिक समीक्षा गरेको छ भने अगष्ट १ देखी ७ तारिख सम्म सबै वडामा स्तनपान सप्ताह मनाएको छ । आर्थिक वर्ष ०७९/८० को पोषण कार्यक्रम समीक्षा, सबै वडा र टोलहरुमा राष्ट्रिय भिटामिन ए कार्यक्रम, वडा नं. ७ को रहबासमा मानसिक स्वास्थ्य दिवस मनाएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाको स्वास्थ्य शाखाले यस आर्थिक वर्षमा क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण, CBIMNCI कार्यक्रमको वार्षिक समीक्षा, अत्यावश्यक औषधी खरिद तथा रिप्याकिङ र वितरण, कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन, बहादुरपुरमा HPMSS अभिमुखिकरण तथा स्वमुल्यांकन, भदौ, असोज र कार्तिक महिनामा औलो र डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर कार्यक्रम, ल्याबको रिएजेण्ट तथा सामग्री खरिद र रिप्याकिङ, दिर्घ विरामीहरुको लागि मासिक रकम भुक्तानी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्चार खर्च भुक्तानी, मातृ मृत्यूको सोधखोज जस्ता कार्यक्रम समेत यस वर्ष प्राथमिकताका साथ गरिएको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले गाउँपालिका स्तरिय तथा रुप्से र झडेवामा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था अभिमुखिकरण, सबै वडामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको, रुप्से, गोठादी र रहबासमा सबै स्वयंसेविकाहरुलाई मानसिक तथा नसर्ने रोग अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको, चिदीपानी र कसेनीका जोखिम क्षेत्रमा क्षयरोगको स्क्रिनिङ गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले ५ वटा विद्यालयका ५ सय २६ किशोरीहरुको रक्तअल्पता परिक्षण गरिएको, वर्थिङ सेण्टरका नर्सिङ कर्मचारीहरुलाई अनसाईट कोचिङ दिईएको, खोप सेवा, क्षयरोग, कुष्ठरोग, परिवार नियोजनलगाएतका सेवाको व्यवस्थापन गरिएको, दुइ पटक झडेवा र हात्तिलुङमा कालाजार र मलेरिया संक्रमितको अवस्था जाँच गरिएको र आवश्यकता अनुसार स्वास्थ्य सेवा तर्फका कर्मचारी भर्ना तथा व्यवस्थापन गरिएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै जना जनप्रतिनिधि हुनुभन्दा पहिले स्वास्थ्य सेवामा कार्यरत रहेकाले पनि स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियाल्दै प्राथमिकताका साथ काम भईरहेको नागरिकले महसुस गरेका छन् । पालिका अध्यक्ष चिदीले ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले घरमै गएर सेवा दिनुका साथै थप उपचार आवश्यक परेमा जिल्ला अस्पतालसँग समन्वय गरि उपचारको व्यवस्था समेत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक परेमा माथिल्लो अस्पतालमा उपचारका लागि समन्वय र सहजीकरण गर्छौं ।”