मसला बनाउन सिक्दै माथागढीका महिला

विजयकुमार बौडेल

२८ मंसिर – माथागढी गाउँपालिकाले महिलाहरुलाई मसला बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिएको हो ।

माथागढी गाउँपालिका वडा नं. ३ मा रहेको मसला उद्योग भवनमा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरि मसला बनाउन सिकाईएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले हरेक नेपालीको भान्छामा प्रयोग हुने मसला बाह्य देश बाट आयात हुने भन्दै स्थानीय श्रोत र साधनको प्रयोग गरि मसला बनाउने तालिमको आवश्यकता ठानेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको बताउनुभयो ।

चिदीले साना साना उपभोग्य वस्तु किन्दा पैसा देश बाहिर जाने र यहीँ मसला बनाउँदा अर्गानिक मसलाको प्रयोग गर्न पाईने र धेरैथोरै बेचेर महिलाहरुले आम्दानी समेत गर्न सक्ने बताउनुभयो । गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले अघिल्लो बर्ष लुम्बिनी प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तन साझेदारी कोष अन्र्तगत मसला उद्योग भवन र मेसिन खरिद गरेको भन्दै यसबर्ष गाउँपालिकाले महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनुभयो ।

वडा नं. ३ का वडा सदस्य मान बहादुर रानाले महिलाहरुले तालिम लिएर त्यसलाई व्यवहारमा उतार्न अनुरोध गर्दै आगामी दिनमा थप सीप र प्रविधिमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रशासन शाखा प्रमुख नित्यानन्द खनालले गाउँपालिकाले स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरि मसला बनाउने र भविश्यमा त्यसको बिक्रिवितरणका लागि समेत योजना बनाईरहेको भन्दै अहिलेलाई उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो ।

विहिबारबाट सुरु भएको तालिम दुई दिनसम्म चल्ने गाउँपालिकाका कर्मचारी प्रमोद भट्टराईले जानकारी दिनुभयो । भट्टराईले आगामी दिनमा आवश्यकता अनुसार पुर्नताजगी तालिम दिने योजना समेत गाउँपालिकाले बनाएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय