विजयकुमार बौडेल –
८ मंसिर – माथागढी गाउँपालिकाको खानी पहुँचमार्गमा जिओ सेल प्रविधि मार्फत सडक निर्माण हुने भएको छ । माथागढी रुपन्देही सडकको गिद्धेभिर खण्डमा जिओ सेल प्रविधि मार्फत सडक निर्माण नुने भएको हो ।
नेपालमै पहिलो पटक यो प्रविधिको प्रयोग गरि गिद्धेभिरमा सडक निर्माण हुन लागेको हो । पाल्पाको माथागढी गाउँपालिका वडा नं. ७ र ५ मा आफ्नो चुनढुंगा खानी सञ्चालन गरिरहेका पाल्पा सिमेण्ट ईन्डस्ट्रि र अर्घाखाँची सिमेण्टको संयूक्त लगानीमा ३ किलोमिटर अप्ठेरो सडक जिओ सेल प्रविधि मार्फत निर्माण गर्न लागिएको पाल्पा सिमेण्टका जनसम्पर्क म्यानेजर जीवन निरौलाले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लाको देवदह ६ मा पर्ने गिद्धेभिर निकै अप्ठेरो र जोखिमयूक्त क्षेत्र मानिन्छ । खानि पहुँच मार्गमा निकै उपयूक्त मानिने यस जिओ सेल प्रविधिले निर्माण गरिएको सडकले स्थानीयलाई समेत बाह्रै महिना निर्वाध रुपमा सडक प्रयोग गर्न सकिने गरि तयार गर्न लागिएको निरौलाले बताउनुभयो ।
चुरे क्षेत्र, हेभि लोड र धेरै गाडी चल्ने क्षेत्रमा नमुनाको रुपमा जिओ सेल प्रविधि बाट निर्माण गरिएको यस सडक २० देखी २५ बर्ष टिकाउ हुने र १०० टन सम्मको भारवहन क्षमता हुने पाल्पा सिमेण्टका सिभिल ईन्जिनियर सुधिर यादवले बताउनुभयो । ६ मिटर चौडाईको सडक निर्माण गरिने यादवले बताउनुभयो । यस प्रविधि मार्फत सडक निर्माण गर्दा उकालो क्षेत्रको ग्राभेल नसर्ने हुँदा पहाडी क्षेत्रमा यो बढी प्रभावकारी हुने यादवको भनाई छ ।
माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले अप्ठेरो र उकालो स्थानमा पिच या ढलान भन्दा जिओ सेल प्रविधि मार्फत सडक निर्माण गर्दा दिगो हुने बताउनुभयो । अध्यक्ष चिदीले अन्य देशका विभिन्न खानी क्षेत्रमा पनि यसको प्रयोग प्रभावकारी भएको हुनाले माथागढीमा पनि नमुनाको रुपमा यसको प्रयोग गरिएको बताउनुभयो । करिब ३ करोड रुपैंयाको लगानीमा यस क्षेत्रमा जिओ सेल प्रविधि मार्फत सडक निर्माण हुन लागिरहेको छ ।