विजयकुमार बौडेल –
४ मंसिर – माथागढी गाउँपालिकाको विकास सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशालामा गाउँपालिकाको समग्र विकासको खाका तयार गरिएको छ ।
गोष्ठीमा आर्थिक समृद्धिका आधार, स्वास्थ्य, शिक्षा, खनिज तथा खानिजन्य पदार्थको समुचित प्रयोग, सडक, यूवा रोजगार तथा स्वरोजगार, स्थानीय उत्पादन र बजारीकरण, कृषि र पर्यटन, फोहरमैला व्यवस्थापन, कला तथा संस्कृती, सुरक्षा तथा आवास, सुचना तथा सञ्चारलगाएतका विषयमा छलफल गरिएको छ । दुई दिनसम्म चलेको गोष्ठीमा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले माथागढी गाउँपालिकाको आर्थिक, सामाजिक र समग्र क्षेत्रको दिगो विकास योजना निर्माण, सञ्चालन र मुल्यांकनबारे सहजिकरण गर्नुभयो ।
कार्यशालामा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले स्थानीय सरकारको अधिकार र त्यसको प्रयोग, विद्यार्थीको खाजा व्यवस्थापनमा स्थानीय उत्पादनको प्रयोग, सामाजिक ज्ञान र सृजनशिलता, मातृभाषाको संवर्धन र प्रवर्धन, पालिका संग सम्बन्धित विषयवस्तुमा खोज तथा अनुसन्धान गर्नेलाई आर्थिक सहयोग, कृषि र पर्यटनलाई जोड्ने, स्थानीय उत्पादनको ब्राण्डिङका विषयमा पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य खेम बहादुर सारुले एकिकृत ढंगको विकास, टुक्रे बजेटको कटौती, प्रदेश र संघ सरकार संग समन्वय आवश्यक, नविनतम कार्य, नकारात्मक सुचक घटाउने, नसके रोक्ने, खरो, छिटो र छरितो कार्यान्वयन तथा हरेक पक्षमा स्पष्टता ल्याउनुपर्ने बताउनुभयो ।
माथागढी गाउँपालिकाको आयोजनामा भएको गोष्ठीमा सडक पुर्वाधार निर्माण तथा सडक मापदण्ड निर्धारण, भौतिक पुर्वाधार निर्माणका विषयमा समेत छलफल गरिएको छ । गोष्ठीमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले माथागढी गाउँपालिकाको समग्र सुचक औषत रहेको, श्रोत कम तर आवश्यकता धेरै भएको, सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्रमुख अर्थविद प्राध्यापक डाक्टर शिवराज अधिकारीले रोजगारी र उत्पादन वृद्धि, समानता सिर्जना, योजना तर्जुमा गर्दा सरोकारवालाहरुको सहभागिता, पालिकाका श्रोत र विकासका संवाहक, लक्षित समुहले बुझ्ने ढंगको योजना, वस्तुगत तथा यथार्थपरक र पुरस्कारको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीमा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चे, बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेन्द्र बहादुर जीसी, माथागढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तथा प्रवक्ता शंकर दर्लामी, वडा नं. २ का अध्यक्ष बोम बहादुर ठाडा, ३ का अध्यक्ष तेज घर्तीमगर, ५ का वडाध्यक्ष गणेशमान गाहा, कार्यपालिका सदस्य तुलसा न्यौपानेलगाएतले माथागढीको विकासका लागि दिर्घकालिन योजना बनाउन कार्यशाला फलदायी रहेको बताउनुभयो ।