
नारायण अधिकारी
पाल्पा । अन्त्याँण , नौतुनाबाट लत्ताकपडा किनेर फर्केसी बिहेको चटारो शुरु भो ।उता , बा लाई सञ्चो भएन , थलिनु भो । बा जान सक्नु भएन – मेरो बिहेमा ।
इष्ट्मित्र , नाता गोता जुटाएर लगनका दिन बिहान नौ बजे नै जन्ती प्रस्थान गरियो – स्याङ्जा तिर । तिन्ताक , बस रिजर्भ गरेर जन्ती जाने चलन थिएन । बूढाखाडा , केटाकेटी र सामान बोक्ने माछे सबै लोर्याङ् लोर्याङ्ग हिँडेरै आरेभन्जिङ पुगियो । आरेभन्जिङ्ममा भाइ बिमल नेपाल पनि घाँटिमा क्यामेरा झुण्डाएर जन्ती जाने तयारिमा रैछन्। अब बल्ल मटर खोज्न पर्यो ।लच्छु दाइ , पारी ठूल्मामा , रक्साहा ठूल्दाइ जस्ता टाठाबाठाले एउटा बस संग कुरा गर्नुभयो । बसवालाले – ठिक छ , बेहुला लाई सिटमा राख्दिम्ला । अरु सबै छताँ बस्नुस् भन्यो । हुन्छ भनेर म र लच्छु दाइभित्र पसेम्,अरु जन्ती पाटी छतमा चढे ।
बस हुँइकियो ।भित्र त छिरियो , बस पुरै प्याक रैछ ।सिट कोले छोड्थ्यो र ?कन्डक्टर र दाइले – लौन , हाम्रा दुलाहा बाउलाइ बसाल्न पर्यो, एउटा सिट छोडिनुस् न – भनेर अनुरोध गर्नुभयो ।सबैले कानमा ठेँडो हाले झैँ सुनेको नसुनेइ गरे , कौनै मुर्दार उठेनन्। म भने भैरान्थान हिँडालेको बोको झैँ बसको खाँबो समातेर उभिइरहेँ।बीचमा कोहि ओर्लिएनन् ।राम्दी पुगेपछी हार खाएर हामी पनि छतमै उक्लिएम्।
पाँच बजेतिर दहथुम झरियो । त्यहाँ गोबिन्द नेपाल दाजु पनि मिसिन आइपुग्नुभयो । र लागियो पारी पकान तिर।आँधिखोला ठूलै थियो , तर पुल थिएन । सबैले कपडा खोलेर कट्टुका भरमा आँधी तरियो।
पारी तिरमा जुत्ता कपडा लाएर हिड्न तयारी गर्दा त पारी स्वामिडाँडा तिरबाट घ्रुम् घ्रुम बाजा बजाउदै एकहुल मान्छे झरे ।हाम्रा जन्तिले – लौ यता पनि ब्याहा रैछ , बाजा ठोकेर हिँडेका छन, भनेर गफ गरे ।
आखिरमा ती बाजे टोलि त हामिलाइ लिन आएका रैछन्।हाम्रा ससुरा बा खान्दानी र सौखिन मान्छे । माहिली छोरिको बिबाहमा बाजै ठोक्दिम् न , भनेर बाजाको बन्दोबस्त गर्नुभएको रहेछ । हामिलाइ के थाह ?अहिले संझिदा आफैलाइ हाँसो लाग्ने ।
तेतिबेलाको बिहे रातिमै हुन्थ्यो ।ठिक्क संजे बेलामा घर पुगियो । पुग्ने बित्तिकै जन्ती खुवाउने कार्यक्रम भयो र हामिलाइ बोलाइयो ।जन्ति जति लहरै गुन्द्रीमा बसेर खान थालियो ।मैले यसो खान थाल्छु त जुन दुनाको चाखे पनि अचार मात्रै छ , तर्कारी त छैन ।भात के सित खाने ? छेउमै बस्नु भएको गोबिन्द दाइलाइ सुटुक्क भनेँ – दाइ , मलाइ त तर्कारी नै छैन है , अचार मात्र छ ।
दाइले भान्छेले सुन्ने गरि भन्नुभयो – हैन , यताको चलन नै दुलाहालाइ तर्कारी नखुवाउने हो कि के हो? यहाँ दुलाहा बाउलाइ त तर्कारिको भाग नै छैन है ! चलन त हैनछ । छुटेको रहेछ । हतार , हतार तर्कारी आयो । म लगायत सबैले खाना खाइयो ।
मैन्टोल बालेर बिहे शुरु भयो ।आरेभन्जिङ् मा पचास रुपैयाँ मा किनेको रंगिन चश्मा लगाएर रातभरी म जग्गेमा बसिरहेँ । बिमलले फोटा खिचिरहे । कोहि मलाइ सहयोग गर्न बसे , कोहि जन्ति सुते ।
बाजा पनि घरी घरी बजिरहे । बिहान झिसमिसेमै बिबाह सकियो । दुलही अन्माइदिए पछि दुलही र सरसामान बोकाएर त्यहाबाट हिँडिहालियो ।
( लामो लेख झ्याउलाग्दो हुने भएकाले मैले छोट्याएँ । फेरि भेटौँला ।)