तानसेनको विशालबजारमा सडक छेकेर व्यापार, नगरपालिका मौन

विजयकुमार बौडेल

२६ असोज – तानसेन बजार क्षेत्रको मुटु विशालबजारमा आधा सडक छेकेर व्यापार हुने गरेको छ । विशालबजारका दुइ फलफुल तथा किराना पसलले आधा सडक छेकेर व्यापार गर्ने गरेका हुन् ।

तानसेन बजार व्यवस्थापनको नियमक निकाय तानसेन नगरपालिकाले पटक पटक गरेको अनुगमनमा सडक छोडेर सामग्री राख्न अनुरोध गरेपनि ति व्यापारीले टेर्दैनन् । अनुगमनका बेला मात्र नगरपालिकाले सामग्री हटाउन अनुरोध गर्ने र पछि त्यसको फलोअप नगर्दा व्यापारीहरु अटेर भएका हुन् ।

पटक पटक गरेको अनुरोधलाई व्यापारीहरुले वेवास्ता गर्दा समेत नगरपालिकाले कुनै कारबाही गर्न सकेको छैन । अन्य व्यापारीहरुको सामग्री उठाउने नगरपालिका यी व्यापारीहरुको सामग्री उठाउने हिम्मत राख्दैन । पहुँचको भरमा यी व्यापारीले अटेरी गरेको स्थानीयबासी बताउँछन् ।

सडकसम्म राखिएका फलफुल र तरकारीले पैदलयात्री तथा सवारीलाई समेत अप्ठेरो बनाएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणीज्य संघ, व्यापार संघलगाएतका प्रतिनिधि संलग्न अनुगमनले दिएको निर्देशन समेत ति व्यापारीले अटेर गर्ने गरेका छन् । अटेरी गर्ने व्यापारीलाई कारबाही गर्ने निकाय भने मौन रहेको छ ।

तानसेन नगरपालिकाका बरिष्ट अधिकृत भरत आचार्यले उक्त पसलहरुबाट सामग्री नै जफत गर्दा पनी अटेरी गरेकाले आगामी अनुगमनमा कानुन अनुसार कारबाही गर्ने बताउनुभयो । तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले कानुन अनुसार सबै चल्नुपर्ने भन्दै अझै पनी अनुगमनको क्रममा सडकमा व्यापार गरेको भेटिए कारबाही गरिने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय