माथागढीमा बजार अनुगमन तिब्र, म्याद नाघेका खाद्यपदार्थ जफत गरि नष्ट

विजयकुमार बौडेल

२५ असोज – माथागढी गाउँपालिकाका बजार क्षेत्रका पसलहरुमा अनुगमन तिब्र गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताहरुलाई अखाद्य पदार्थको जोखिम कम गर्न बजार अनुगमन तिब्र गरिएको हो ।

माथागढी गाउँपालिकाको वडा नं. १, २, ३ र ६ का मुख्य बजार क्षेत्र सराई, खहरे, रुप्से, गोठादीलगाएतका स्थानका पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । आज गरिएको अनुगमनमा म्याद नाघेका ९ हजार १ सय रुपैंया बराबरको खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको घिमिरेले बताउनुभयो ।

पालिकामा व्यवसाय विस्तार र प्रवद्र्धनसँगसँगै बजारमा व्यावसायिक गतिविधि वैध, स्वच्छ र प्रतिस्पर्धी हुनुपर्ने भन्दै नजिकै आइरहेको दसैँ, तिहार र छठपर्वजस्ता ठूला चाडपर्वमा धेरै असर पर्ने भएकाले अनुगमन तिब्र पारिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

यस्तो वेला अभाव हुने वस्तुको अनावश्यक सञ्चय गर्ने वा स्टक लुकाउने, मिलोमतो वा कृत्रिम अभाव खडा गरी कालोबजारीमार्फत मूल्य बढाउनेजस्ता क्रियाकलाप बढी हुन सक्ने हुँदा बजार अनुगमन व्यापक र प्रभावकारी बनाइएको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो ।

अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा छिमेकी मुलुक चीन र भारतबाट दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बढी आयात हुने भएकाले पनि अनुगमन अत्यावश्यक भएको बताउनुभयो । वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीले चिनी, गहुँ, चामल आदि जस्ता अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिमा कमी भई मुल्य वृद्धि गरिएको गुनासो बढ्न थालेपछि अनुगमन गरिएको बताउनुभयो ।

नेपालमा उपभोक्ताको हकहित/अधिकार संरक्षण सम्बन्धमा ०५४ देखि कानुनी व्यवस्थाको सुरुवात भई नेपालको संविधानअनुरूप नयाँ उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएदेखि उपभोक्ताको अधिकार संरक्षण गर्न अनुगमन हुँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय