विजयकुमार बौडेल –
२४ असोज – माथागढी गाउँपालिकाका शिक्षकहरुलाई कोर स्किल तालिम दिईएको छ । माथागढी गाउँपालिका र बृटिश काउन्सिलको सहकार्यमा तालिम दिईएको हो । QEQS सक्षम कार्यक्रम अन्तर्गत असोज २० गते देखि २३ गते सम्म पालिका भित्रका सबै बिद्यालयका एक एक जना शिक्षकहरुका लागि कोर स्किल प्रारम्भिक तालिम सञ्चालन भएको हो ।
पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न र सरोकारवाला सबैको क्षमता सुधार गर्न शिक्षकहरुका लागि यो तालिम चलाइएको सक्षम कार्यक्रमका संयोजक अशेष भट्टराईले जानकारी दिनुभयो । तालिम समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । चिदीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै शिक्षा क्षेत्रमा जनप्रतिनिधिको सधै साथ रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले शिक्षाको लगानी लामो समय पछिमात्र देखिने हुनाले अहिले नआत्तिएर निरन्तर लाग्न जोड दिनुपर्ने बताउनुभयो ।
तालिम पश्चात कार्यमूलक अनुसन्धान गरेर प्रतिवेदन पेश हुने जनाईएको छ । तालिममा पाँच जना प्रशिक्षकले सहजिकरण गरेका थिए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम बारघरेको स्वागत र प्रमूख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।