विजयकुमार बौडेल –
२१ असोज – तीन दिनमै पाल्पा अस्पतालका डाक्टरको सरुवा हुँदा पनि पाल्पाली नेता निरिह बनेका छन् । अनेक राजनैतिक खिचातानीका कारण केही समय पनि डाक्टर अस्पतालमा टिक्न नसक्ने वातावरण हुनु पाल्पाली नेताहरुको लागि लाजमर्दो विषय बनेको छ ।
बर्षौ देखि जनताको सेवा गरेका छौं भनेर नथाक्ने नेताहरुले पाल्पा अस्पतालमा न दरबन्दी अनुसारको डाक्टर ल्याउन सक्छन् न आएका डाक्टर टिकाउन नै । जिल्लाका नागरिकको लागि सम्पुर्ण जिवन नै सुम्पेका छौं भनेर भाषण गर्ने नेताहरु तिनै सर्वसाधारण जनताले उपचार गर्न आउने थलो पाल्पा अस्पतालमा डाक्टर ल्याउन र टिकाउन निरिह बनेका छन् ।
यही असोज १६ गते पाल्पा अस्पताल हाजिर भएका डाक्टर किशोर बन्जाडेलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्मचारी प्रशासन शाखा लुम्बिनी प्रदेशको असोज १९ गतेको सचिव स्तरिय बैठकले जिल्ला अस्पताल गुल्मी काज पठाउने निर्णय गर्यो । डाक्टर हाजिर भएको तीन दिनमै सरुवा भएपछि पाल्पामा लामो समय राजनीति गरेका भनिएकाहरुले रोक्ने वा रोकेझैं गर्ने प्रयास त गरे तर न तिनलाई कसैले टेरपुच्छर लाए, न तिनका लाज नै जोगाईदिए ।
यतिका बर्ष राजनीति गरें भनेर फुँइ लाउने सबै दलका नेताहरु रुझेका बिराला जस्ता भए, गाह्रो, साह्रो र अप्ठेरो बेला प्रयोग गर्न सकिने पाल्पा अस्पतालमा केही गर्छु भनी आउने डाक्टरहरु सबैलाई पाहुना बनाएर पठाईन्छ । सुनिन्छ, यसमा डाक्टर र मन्त्रीको ईगो साधिँने गरेको छ । कतै सरुवा भएर जानुअघी मन्त्रीलाई सोधेर जाउँ की नजाउँ नभनेको ईगोका आधारमा डाक्टरलाई सुँईकाउने प्रवृत्तिले पाल्पा अस्पताल सधै यसको तारो बन्ने गरेको छ ।
बल्ल तल्ल सर्वसाधारणको अली गतिलो उपचार गर्ने थलो बन्न लागेको पाल्पा अस्पताल अहिले डाक्टरहरुको विश्राम स्थल जस्तै बनेको छ । अन्त काम गर्ने, केहि छिन पाल्पामा आराम गर्ने अनी फेरी अन्त गईहाल्ने । यसो गर्नु उनिहरुको रहर होईन, उनिहरुको बाध्यता हो, माथिल्लो तहका नेताहरुलाई चाकडी नगर्नुको प्रतिफल हो, पाल्पाली नेताहरुको निरिहता हो ।