विजयकुमार बौडेल –
२१ असोज – पुर्वखोलाको देवीनगर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । आवश्यक सुचकहरु पुरा भएपछी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
देवीनगर स्वास्थ्य चौकीमा गर्भबती महिलाले कम्तीमा ८ पटक पूर्ब प्रसुती जाच गरेको प्रतिशत, सुत्केरी महिलाले कम्तीमा ४ पटक उत्तर प्रसुती जाच गरेको प्रतिशत, गर्भबती महिलाले गर्भ अबधी भर १८० आइरन फोलिक एसिड चक्की खाएको प्रतिशत, स्वास्थ्य संस्थामा सुत्केरी गराएका महिलाहरुको प्रतिशत न्यूनतम लक्ष्य भन्दा बढी भएपछी घोषणा गरिएको पुर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य संस्थामा जन्म भएका बालबालिका मध्ये जन्मेको १ घण्टा भित्र स्तनपान सुरुवात गर्ने शिशुको प्रतिशत, ६ देखी ५९ महिनाका बालबालिकाहरुले बर्षमा २ पटक भिटामीन ए क्याप्सुल पाएको प्रतिशत, १२ देखी ५९ महिनाका बालबालिकाहरुले बर्षमा २ पटक जुकाको र्औषधी पाएको प्रतिशत, २४ महिना सम्म बालबालिकाले नियमित बृद्घिअनुगमन गरेको औषत पटक, बृद्घिअनुगमन अनुगमनमा दर्ता भएका बालबालिका मध्ये जनमेको ६ महिना सम्म पूर्ण स्तनपान गराएको प्रतिशत र बृद्घिअनुगमन अनुगमनमा दर्ता भएका बालबालिका मध्ये जनमेको ६ महिना पश्चात स्तनपानका साथै समयमै थप खानाको सुरुवात गरेको प्रतिशत पनि न्यूनतम लक्ष्य भन्दा बढी रहेको छ ।
घोषणा कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद खेम बहादुर सारुले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा निर्देशिका २०७८ मा तोकिएको मापदण्ड पुरा गरी देवीनगर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएकोमा पालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । सारुले पुर्वखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्र काम गरिरहेको र त्यसलाई दिगोपना दिनुपर्ने भन्दै आवश्यक सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य कार्यालय पाल्पाका तथ्यांक अधिकृत टुक प्रसाद पोखरेल, वडाध्यक्षहरुलगाएतले सुचकहरुलाई कायम राख्दै थप बलियो बनाउन निरन्तर अध्ययन, अनुगमन र कार्यन्वयन गराउन स्वास्थ्य संस्था लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख शान्ता बम्रेलले स्वास्थ्य चौकीको प्रतिवेदन पेश गर्नुभयो । वडाध्यक्ष मेहर सिंह थापाले पोषण मैत्री स्वास्थ्य संस्था घोषित भएको प्रमाण पत्र ग्रहण गर्नुभयो । त्यस्तै कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान समेत गरिएको छ ।
देवीनगर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न बृद्घिअनुगमन अनुगमनमा दर्ता भएका बालबालिका मध्ये कम तौल भएको बालबालिकाकोे प्रतिशत, कम तौलका शिशु जन्म प्रतिशत, पूर्ण खोपयुक्त स्वास्थ्य संस्था भएको, पूर्ण मात्रामा (१८० स्याचेट) बालभिटा पाएका बालबालिकाको प्रतिशत, बालबालिकालाई झाडापखाला लागेको बेला जिंक चक्की र पुर्नजलिय झोल खुवाउने गरेको प्रतिशत र २६ हप्ता सम्म आईरन फोलिक एसिड चक्की पाएका किशोरीको प्रतिशत न्यूनतम लक्ष्य भन्दा बढी रहेको जनाईएको छ ।