विजयकुमार बौडेल –
१८ असोज – माथागढी गाउँपालिका वडा नं. ३ कसेनीको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कसेनी वडा कार्यालयमा आर्थिक बर्ष ०७९/८० को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
वडा नं. ३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको समीक्षा गरिएको हो । माथागढी गाउँपालिकाको आयोजना तथा माडी भ्यू मिडिया प्रा.लि. को सहजिकरणमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ सञ्चालन भएको हो ।
समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले सामाजिक सुरक्षा भत्ता नविकरण तथा वितरण, नदी नियन्त्रण, विद्युत तार, पोल र लाईन विस्तार, सडक वत्ति व्यवस्थापन, वृक्षरोपण, मसला उद्योग भवन निर्माण, श्रमदान, खेल सामग्री वितरण, निशुल्क स्वास्थ्य बीमा, विभिन्न संघसंस्थाहरु संग सहकार्यलगाएतका विषयमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवा, रोजगारी, उपभोक्ता समिति, शैक्षिक पुर्वाधार, उत्पादनमुखी शिक्षा, पर्यटन, नाली तथा सडक व्यवस्थापन, कृषि, पशुपालन, योजना प्रक्रिया, भुक्तानी प्रक्रिया, लक्षीत वर्गका योजना, खानेपानी, बस्ती विकास, फोहरमैला व्यवस्थापन, सुचना तथा सञ्चारलगाएतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव व्यक्त गरेका थिए ।
सहभागीका प्रश्नको जवाफ वडाध्यक्ष घर्तीमगरले दिनुभएको थियो । सहभागीहरुको जिज्ञासा मेट्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले नागरिकको दुख र पसिनाले निर्मित संरचनालाई व्यवस्थित र संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष चिदीले नागरिकका आवश्यकता अनुसारका योजना क्रमश पुरा गर्दै जाने गाउँपालिकाको योजना रहेको बताउँदै दिगो विकासका लागि नागरिकको चासो र लगनशिलता आवश्यक रहेको बताउनुभयो । सार्वजनिक सुनुवाइको सहजिकरण माडी भ्यू मिडिया प्रा.लि. का पत्रकार विजय बौडेल र नेत्र गैरेले गर्नुभएको थियो ।