विजयकुमार बौडेल –
१६ असोज – पाल्पाको तानसेन ९ दमकडामा बाँदरको आक्रमण बाट फार्ममा रहेका तीन बाख्रा मरेका छन् भने दुइ घाइते भएका छन् ।
तानसेन ९ दमकडा गोठुवा निवासी भगवती खरालको फार्मका बाख्रा चराउन लगेको अवस्थामा बाँदरले आक्रमण गर्दा तीन बाख्रा मरेका हुन् भने दुइ घाइते भएका हुन् । श्रीमान गोविन्द खराल र श्रीमती भगवती खरालले तानसेन ९ गोठुवामा भगवती बाख्रा फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा २५ बढी बाख्रा रहेको र चराउन लगेकाे अवस्थामा एक्कासी बाँदरले आक्रमण गर्दा घटना भएकाे खरालले बताउनुभयो ।
पछिल्लो समय ग्रामिण क्षेत्रमा बाँदरको बिगबिगी बढ्दै गएकाले किसानहरु आजित भएका छन् । खेतिबालीको नाश गरेपनी घरपालुवा जिवजन्तुलाई आक्रमण गर्दै जानुले किसानहरु थप समस्यामा परेको स्थानीय सिता भुषालले बताउनुभयो । बाँदरले जिवजन्तु संगै महिला तथा बालबालिकालाई आक्रमण गर्ने क्रम समेत बढेको भुषालले बताउनुभयो ।
बालीनाली सखाप पार्नुका सार्थ बाँदरहरु झन आक्रामक हुँदै गएका छन् । स्थानीय सरकारले बाँदरको समस्या समाधान गर्ने उपाय निकाल्न सकेको छैन भने केन्द्र सरकार झन यो समस्या प्रति बेखबर जस्तै छ ।