विजयकुमार बौडेल –
१५ असोज – तिनाउ गाउँपालिकाले पशुपालन क्षेत्रमा ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाले पशुपालन क्षेत्रका विभिन्न कृषक, फर्म, समुह र सहकारीलाई ५० प्रतिशत अनुदानका लागि निवेदन आह्वान गरेको हो ।
गाउँपालिकाले कम्तिमा २ वटा दुहुना भएकालाई गोठसुधार ४५ जनालाई, कम्तिमा १० वटा माउ बाख्रा, ३ वटा माउ बंगुर र ३० वटा लोकल कुखुरा भएकालाई खोर सुधार २० जनालाई, कम्तिमा ४ वटा गाईभैंसी भएकालाई गोठ निर्माण सहयोग ३ जनालाई, कम्तिमा २० वटा माउ बाख्रा वा ६ वटा माउ बंगुर भएकालाई खोर निर्माण सहयोग ३ जनालाई ५० प्रतिशत अनुदान दिने भएको हो ।
गाउँपालिकाले कम्तिमा ५ वटा गाईभैंसी पालेको फर्म भएकालाई गोठमा गोबर ग्यास जडान ५ जनालाई, कम्तिमा २० वटा माउ भैंसी पालन गरेको समुह÷कलस्टर भएकालाई उन्नत राँगो वितरण २ वटा, कम्तिमा ४० वटा बाख्रा भएको फर्म भएकालाई उन्नत बिउ बोका वितरण ६ वटा समुहलाई अनुदान दिने गरि सुचना जारी गरेको छ ।
पालिकाले कम्तिमा ३० वटा बाख्रा वा ४ वटा गाईभैंसी भएको फर्मलाई चापकटर २० वटा, कम्तिमा २० वटा बाख्रा भएको फर्मलाई डुँड/टाट्नो २० वटा र कम्तिमा एक बर्षदेखी व्यवसायिक रुपमा पशुपालन गरेको र कम्तिमा “ग” वर्गको कृषकलाई एक वडा एक नमुना पशु श्रोत केन्द्र स्थापना ३ वटा अनुदान दिने भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
पालिकाले इन्छुक किसानहरुले असोज ३० गतेभित्र निवेदन दिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिनुभयो ।