
विजयकुमार बौडेल –
१५ असोज – पाल्पा सिमेन्ट इन्डस्ट्रिज प्रालि माथागढी–७, रहवासको चुनढुंगा खानीको द्धारमा नापतौलका लागि धर्मकाँटा निर्माण गरिएको छ ।
खानी तथा भूगर्भ विभाग र वनका पदाधिकारीले अनुगमनपछि धर्मकाँटा राख्न निर्देशन दिएपछी खानी/कम्पनीले धर्मकाँटा निर्माण गरेको हो । धर्मकाँटा नहुँदा टिप्परको क्षमताभन्दा बढी चुनढुंगा ढुवानी भइरहेको थियो । जसले गर्दा सडक छियाछिया भएको नागरिकले गुनासो गर्ने गरेका थिए । खानीले धर्मकाँटा निर्माण गरेपछी अव मापदण्ड अनुसार टिप्परले चुनढुंगा बोक्ने विश्वास गरेको माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो ।
धर्मकाँटा नहुँदा १० टन क्षमताका टिपरले १७ देखि २० टनसम्म चुनढुंगा ओसारपसार गर्ने गरेका थिए । जथाभावी चुनढुंगा लोड गरेर टिपर गुडेको गुनासो सर्वसाधारणले गरे पनि अहिलेसम्म यसले निकास पाउन सकेको थिएन । धर्मकाँटा नहुँदा चुनढुंगा निकासीको परिमाणमा अन्यौल रहेको बिषय अव समाधान हुने माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
हरेक खानी उद्योगमा अनुमति लिने समयमै धर्मकाँटा राख्नुपर्ने भएपनि विभिन्न बहानामा धर्मकाँटा सञ्चालन भएको थिएन । उद्योगीहरूले खानी तथा भूगर्भ विभागमा उद्योगीहरूले कति उत्खनन गरे भन्ने आफैंले स्वयंघोषणा गरेर रोयल्टी बुझाउने थिए । निर्मित धर्मकाँटाको प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले अनुगमन गर्नुभयो । प्रतिनिधीसभा सदस्य आचार्यले धर्मकाँटा निर्माण भएपछी अव त्यो समस्याको समाधान हुने बताउनुभयो ।
अहिले सम्म बिक्री गर्ने उद्योगको गेटमा भएको धर्मकाँटामार्फत तौल गरि ढुवानीको रकम भुक्तानी गर्ने गरेको खानी सञ्चालकले बताएका छन् । थ्रिफेज बिजुलीको लाइन नहुने, उपयुक्त जग्गा नहुनेलगायत कारण जनाएर उद्योगीले सम्बन्धित स्थलमा धर्मकाँटा राखेका थिएनन् । २०७९ पौष १ गते खानी तथा भुगर्भ विभागले सञ्चालित खानीहरुमा अनिवार्य रुपमा धर्मकाँटा राख्ने नियम कडाईका साथ लागु गर्ने निर्णय गरेको प्रतिनिधीसभा सदस्य आचार्यले बताउनुभयो । सोही निर्णय अनुसार खानीले धर्मकाँटा निर्माण गरेको हो ।
धर्मकाँटाको भौतिक निर्माण पुरा भएको र बिद्युत जोडेर सञ्चालनमा ल्याउने काम बाँकी रहेको खानी सञ्चालकले बताएका छन् । अहिले बर्षाका कारण खानी सञ्चालन नभएको र अव खानी सञ्चालन हुने बेलासम्म धर्मकाँटा समेत सञ्चालन हुने खानीले जनाएको छ ।