विजयकुमार बौडेल –
१० असोज – पाल्पामा सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका निस्दी गाउँपालिका भएको छ । जिल्ला सदरमुकाममा रहेको तानसेन नगरपालिकाले भन्दा धेरै आम्दानी गर्ने पालिका निस्दी गाउँपालिका भएको हो ।
निस्दी गाउँपालिकाले गत आर्थिक बर्षमा ७ करोड ७७ लाख २४ हजार ७ सय ८ रुपैंया २ पैसा आन्तरिक आम्दानी गरेको छ । जसमा निस्दी गाउँपालिकाले खानी तथा खनिज रोयल्टी मार्फत ४ करोड ९६ लाख ७८ हजार ८७ रुपैंया ८६ पैसा, नदीजन्य पदार्थको रायल्टी मार्फत ४ लाख ६५ हजार २ सय २ रुपैंया २० पैसा र विविध आन्तरिक श्रोत मार्फत २ करोड ७५ लाख ८१ हजार ४ सय १८ रुपैंया १६ पैसा आम्दानी गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकाले गत आर्थिक बर्षमा ७ करोड १५ लाख ८८ हजार २ सय ३९ रुपैंया आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले सम्पत्ति कर मार्फत ६० लाख ३४ हजार ४ सय ९९ रुपैंया ७४ पैसा, भूमी कर मार्फत ३५ लाख ८९ हजार २ सय ४२ रुपैंया ५४ पैसा, बहाल कर मार्फत १ करोड ११ लाख ९ हजार ७ सय ४४ रुपैंया ८४ पैसा, स्थानीय पुर्वाधार सेवाको उपभोगमा लाग्ने कर मार्फत ९० लाख ६२ हजार ३ सय ३६ रुपैंया ५० पैसा आम्दानी गरेको छ ।
यसबाहेक अन्य मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर, लघु तथा साना उद्योग दर्ता, सरकारी सम्पत्तिको बहालबाट हुने आय, घरजग्गा रजिष्ट्रेशन, बस्तु तथा सेवा बिक्री, पार्किङ, नक्सापासबाट आम्दानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो ।
सदरमुकाम समेत रहेको तानसेन नगरपालिका बजार क्षेत्र भएपनि निस्दीको आन्तरिक आम्दानी बढी छ । यसको कारण निस्दीमा रहेको ठुलो चुनढुंगा खानी बाट आउने रोयल्टी रहेको छ ।