
विजयकुमार बौडेल –
८ असोज – माथागढी गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुको बैठक सुरु भएको छ ।
गाउँपालिकाका ४४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक सुरु भएको छ । बैठकमा विद्यालयका बार्षिक गतिविधि र शैक्षिक स्तर बारे समिक्षा गरिएको छ ।
बैठकमा प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले माथागढीको शैक्षिक सुधार सकारात्मक रुपमा अघि बढेको बताउनुभयो । आचार्यले पालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको भन्दै केन्द्र सरकार संग आवश्यक सहयोगका लागि समन्वय गर्ने बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य खेम बहादुर सारुले विद्यालयहरुले सुधारका लागि धेरै प्रयास गरेको बिषय धेरै सकारात्मक भएको बताउँदै शिक्षक, अभिभावक र विद्यार्थीको समन्वयले शिक्षा क्षेत्रले गति लिन सक्ने बताउनुभयो । सारुले विद्यालय शैक्षिक पुनर्संरचनाका नविनतम आधारहरु बिषयमा सहजिकरण समेत गर्नुभयो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले गाउँपालिकाको मुख्य प्राथमिकता शिक्षा क्षेत्र भएकाले त्यसको सफलताको लागि शिक्षक र जनप्रतिनिधिले योजना बनाएर लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष चिदीले शैक्षिक सुधारका लागि विद्यालयहरुले निश्चित लक्ष्य राखेर त्यो पुरा गर्ने गरि लाग्नुपर्ने र शिक्षकहरुले प्रधानाध्यापक संग उच्चतम नतिजाको प्रतिवद्धता गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सबै विद्यालयका प्रधानाध्यापक र प्रतिनिधीले आआफ्ना विद्यालयका गतिविधी र प्रतिवेदन प्रस्तुत गरेका थिए ।