विजयकुमार बौडेल –
२८ भाद्र – माथागढी गाउँपालिकाले कृषि उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने भएपछि किसानहरु उत्साहित भएका छन् ।
माथागढी गाउँकार्यपालिकाको बैठकले समुह सहकारी मार्फत बेचबिखन गरिने कृषि उत्पादनलाई अनुदान दिने निर्णय गरेपछि किसानहरु उत्साहित भएका हुन् । गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले किसानलाई कृषि तथा पशुपालनको क्षेत्रमा व्यवसायिक बनाउने उद्देश्यले नगद अनुदानको कार्यक्रम ल्याईएको बताउनुभयो । किसानहरुको कृषि तथा पशुपालनको उत्पादनमा प्रतिकिलो नगद अनुदान दिएपछि गाउँपालिकाको कृषि उत्पादन बढ्ने चिदीले बताउनुभयो ।
माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले अनुदानको निर्णयले किसानहरु उत्साहित भएको बताउनुभयो । दर्लामीले कागजपत्र मिलाएर अनुदान खाने किसान बढ्दै गएकाले वास्तविक किसानले अनुदान पाउन् भन्ने उद्देश्यले यो निर्णय गरेको बताउनुभयो ।
गाउँ कार्यपालिकाको बैठकले बाख्रा र लोकल कुखुरामा प्रतिकेजी रु २५, पाडा/बङ्गुरमा प्रतिकिलो १५, दुधमा ५ प्रति लि, तरकारी/फलफुल प्रतिकिलो ५, अदुवा बेसार र मसलाजन्य उत्पादनमा प्रतिकिलो ५ रुपैया उत्पादनमा अनुदान दिने निर्णय भएको माथागढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले बताउनुभयो ।