विजयकुमार बौडेल –
२७ भाद्र – तानसेन बहुमुखी क्याम्पसले बार्षिकोत्सव समारोह मनाएको छ । वि.सं. २०४७ सालमा स्थापित क्याम्पसले ३४ औं बार्षिकोत्सव समारोह मनाएको हो ।
समारोहको उद्घाटन गर्दै तानसेन बहुमुखी क्याम्पसका संस्थापक तथा संरक्षक डा. राम प्रसाद शर्माले अप्ठेरो परिस्थितीमा क्याम्पस स्थापना भएर अहिलेको यो विकसित रुप सम्म आईपुग्नु समग्र शिक्षा क्षेत्रको सकारात्मक विषय भएको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष राजन प्रसाद पन्तले शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योगको नारा बोकेको तानसेन र पाल्पाको शैक्षिक विकासका लागि क्याम्पसले पुर्याएको योगदानको स्थानीय देखि राष्ट्रिय रुपमै चर्चा भएको बताउनुभयो ।
समारोहमा क्याम्पसका प्राध्यापक राम प्रसाद ढकाललाई सम्मान समेत गरिएको छ । खेल क्षेत्रका विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीलाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा क्याम्पसका प्रमुख पुष्कर राज रेग्मीले ९९ लाख ४४ हजार ६ सय ३४ रुपैंया ३१ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
समारोहमा तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदिप खनाल, पुर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, प्राध्यापक राम प्रसाद ढकाल, पत्रकार प्रकाश नेपाललगाएतले शुभकामना व्यक्त गर्नुभयो । क्याम्पसमा हाल ३३६ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ३० जना प्राध्यापक रहेका छन् । बार्षिकोत्सवका अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।