विजयकुमार बौडेल –
१९ भाद्र – सिद्धार्थ राजमार्गलगाएत जिल्लाका विभिन्न कालोपत्रे सडकमा रातो माटोले टाल्दा सडकको अवस्था विजोग भएको छ ।
कालोपत्रे गरेको सडकका खाल्डाखुल्डीमा रातो माटोले टालेर मर्मत गरिँदा यहाँका सडकको अवस्था विजोग भएको हो । रातो माटोले टालेका सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेका छन् । असार मसान्तको बेला हतार हतार कालोपत्रे गरि टालेका ठाँउ ६ महिना पनि नटिकेपछी ममर्तको नाममा रातो माटो हाल्ने गरिएको छ ।
सडकका खाल्डाखुल्डी र रातो माटोले पुरिएका स्थानले यात्रुले निकै सास्ति व्यहोर्नु परेको छ । सरोकारवाला निकाय सडक डिभिजन कार्यालयले मर्मतमा लापरबाही गर्दा यात्रुले सास्ति व्यहोर्नु परेको हो । “बिसौं बर्ष पहिले निर्माण गरेको सडक केहि हुँदैन ।” सवारी चालक प्रदिप रुचालले भन्नुभयो, “अहिलेको सडक मर्मत गरेको ६ महिना पनि टिक्दैन, गुणस्तर नै नभएर त होला ।” सडक मर्मत गर्दा सरोकारवाला निकायले गुणस्तरिय मर्मत नगरेको उहाँको गुनासो छ ।
सडक मर्मत गर्दा गुणस्तरिय सामग्रीको प्रयोग नहुनु, बर्खाको समयमा मर्मत हुनु, आवश्यक मापदण्ड पुरा नहुनु जस्ता कुराले सडक गुणस्तरिय नहुने गरेको प्राविधिकहरु बताउँछन् ।