तीज विकृति : महंगा होटलमा दर खाएर मनाउने प्रचलन बढ्दो

विजयकुमार बौडेल

१५ भाद्र – महंगा होटलमा दर खाएर तिज मनाउने विकृति बढ्दो रहेको छ । विभिन्न संघ, संस्था, संगठन तथा समुहहरुले होटलमा महंगो मुल्य तिरेर दर खाने विकृति बढेको हो ।

अघिल्लो दिनमा अनदिको चामललाई घ्युमा पकाएर लट्टे बनाउने, दर खाने र भोलिपल्ट व्रत बस्ने, नाचगान गर्ने प्रचलन हट्दै गएको छ । महंगा होटलमा धेरै खर्च गरेर दर खाने विकृति बढ्दा माईती र चेलीको भेटघाट गराउने परम्परागत चाड तीजमा टाढा टाढा रहेका आफ्ना छोरी चेली हरुलाई घरमा बोलाएर दर खुवाउने चलनको अपमान हुँदै गएको छ । समाजमा रहेका बिकृति बिसंगति बिरुद्ध र देशमा घटेका घटनामा आधारित रहेर समाजको यथार्थता लाई गित मार्फत प्रस्तुत गरिने परम्परा पनि मासिँदै गएको छ । पछिल्लो समय तीज अत्यन्तै भड्किलो हुन थालेको छ, जसका कारण गरिब वर्गलाई यसले रमाउन दिएको छैन ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले यो बर्ष धेरैले होटलमा कार्यक्रम नगरेको भएपनि छिटफुट मात्रामा भएको र नगरपालिकाले कुनैपनि तीजका कार्यक्रम होटलमा नगरिएको बताउनुभयो । उपप्रमुख सिंजालीले संस्कृति संग जोडिएको पर्व धनीको पर्व मात्र हो कि जस्तो भईरहेको भन्दै आफु त्यसको विरुद्धमा रहेको र होटलमा दर खाने कार्यक्रममा आफु सहभागी नभएको बताउनुभयो ।

शरिरमा झपक्क सुनका गहना, महंगा कपडा र महंगो होटलको दर अहिलेको तीजको प्राथमिकतामा पर्दे आएका छन् । धनाड्य वर्गलाई यो सामान्य लागेपनि गरिब र बिपन्न बर्गको लागि यसले हिनताबोध गराउने गरेको छ । देखासिखीका कारण व्युटिपार्लरको खर्च, गहना कपडाको खर्च, होटलको खर्चले नसक्नेहरुलाई निकै मारमा पारेको छ । आधुनिक तरिकाले तीज मनाउने प्रबृत्तिले माईती र चेलीको महत्व लाई घटाएको महशुस भएको छ । तीज आउनु पहिले नै प्रत्येक टोल, गाउँ, होटल, पार्टी प्यालेस, अफिस र संघसंस्थाहरुमा तीजको दर कार्यक्रम हुने गरेको छ ।

आफ्नो हैसियत अनुसारको तीज मनाउन पाउने आफ्नो अधिकार भएपनि तीजको मौलिकपन समाप्त हुदै गएको छ । पछिल्लो समय हरेक चाडपर्व मनाउने आधुनिक तरिकाको कारण हाम्रो मौलीक संस्कृति धरापमा परेको छ । मौलिकता, नेपाली संस्कृति र आर्थिक अवस्था हेरेर चाडपर्व मनाउनु सबैको लागि हितकर हुने सरोकारवालाहरुको भनाई छ ।

प्रतिकात्मक तस्विर : गुगल

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय