
विजयकुमार बौडेल –
१२ भाद्र – तानसेनको ऐतिहासिक रणउज्जेश्वरी भगवती मन्दिरमा प्लास्टिकको ओत लगाईएको छ । मन्दिरको छानो चुहिँदा प्लास्टिकको छानो लगाईएको हो ।
मन्दिर गुठि व्यवस्थापन समितिले पुरातत्व विभाग संग सल्लाह गर्दा अहिले समाधान गर्न नसकिने भएको जनाएको छ । मन्दिरमा रहेको काठहरु कुहिएको कारण र बजेटको समस्याका कारण मन्दिर जिर्णोद्धार गर्न नसकिएको समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । अर्को साल दिर्घकालिन समाधानको लागि योजना बनाएर लागेको अध्यक्ष महर्जनको भनाई छ ।
नेपाली वीरता र राष्ट्रियताको प्रतिकका रूपमा मुलुकभर चिनिदै आएको पाल्पाको भगवती मन्दिरमा प्लास्टिकको ओत लगाउँदा पाल्पाको पर्यटकिय क्षेत्रमा नकारात्मक असर परेको छ । तत्कालीन पाल्पा गौँडाका तैनाथवाला कर्णेल उजिरसिंहले नेपाल–अंग्रेज युद्धमा जानुअघि भगवती मातासँग प्रार्थना गरी विजय प्राप्त होस् भन्दै भाकल गरेपछि सवै युद्धमा पराजय भोगेका नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेपछि भगवती जात्रा मनाउँदै आईएको छ ।
अहिले समितिले २०३ औं जात्रा मनाउने तयारी गरिरहेको छ । यसबर्ष अरु बर्ष भन्दा फरक तरिकाले जात्रा मनाउने र तयारी स्वरुप पेण्टिङको काम भईरहेको समितिका अध्यक्ष महर्जनले बताउनुभयो । समितिले मन्दिरको जिर्णोद्धारका लागि रेष्ट्रोफिटिङ गर्ने र सरकार बाट सहयोग भयो भने परानै संरचना अनुसार ३ तले मन्दिर बनाउनको लागि डिपिआर बनाएर पुरातत्व विभागमा प्रस्ताव पेश गरेको समितिले जनाएको छ ।
तानसेन नगरपालिका वडा नं. ३ मा अवस्थित यस मन्दिर तानसेनको संभवत बीच भागमा रहेको छ । पाल्पा दरबार नजिकै रहेको यस मन्दिरमा धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् तर धेरैले ऐतिहासिक भगवती मन्दिर प्लास्टिकले छोपिएको देख्दा अचम्म मान्ने गरेका छन् । धादिङ बाट पहिलो पटक पाल्पा घुम्न आएका शंकर श्रेष्ठले भन्नुभयो “पाल्पामा ऐतिहासिक भगवती मन्दिरको ठुलै चर्चा सुनेको थिएँ, सोंचे जस्तो रैनछ । यत्तिको ऐतिहासिक विरासत बोकेको मन्दिरलाई त अली व्यवस्थित तरिकाले संरक्षण गर्नुपर्छ नी”
तानसेन ३ का वडाध्यक्ष बाबुरत्न शाक्यले बर्खा भएको कारणले पानी चुहिने भएर प्लास्टिकले ओत लगाएको बताउनुभयो । अहिले नयाँ समिति आएपछी मन्दिरको पुरै छानो प्लास्टिकले ढाकेको वडाध्यक्ष शाक्यले बताउनुभयो । “बर्खा सकिएपछी बन्न सक्छ, बजेट छैन, धेरै बजेट आवश्यक भएकाले अहिले प्लास्टिकले काम चलाएको हो ।” वडाध्यक्ष शाक्यले बताउनुभयो ।
तानसेनको बीच भागमा रहेको भगवती मन्दिरको छानोमा प्लास्टिकले ओत लगाउनु पर्दा तानसेनको पर्यटकिय क्षेत्रमा नकारात्मक असर पर्ने गरेको स्थानीयको भनाई छ ।