५ भाद्र – स्थानीय सरकारले ग्रामिण क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेपनी पाल्पाका गाउँहरु भने रित्तिदै गएको छ ।
स्थानीय तहले ग्रामिण क्षेत्रका सडक, कृषि, पर्यटनलगाएतका क्षेत्रमा बजेट विनियोजन गरेपनी समग्र अर्थतन्त्रको विकासलाई दिगो बनाउन नसक्दा गाउँहरु रित्तिदै गएको हो । कुनै समयका अधिकांश ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदै गएको छ । खेतबारी बाँझिदै गएका छन् । मुरीका मुरी खाद्यान्न उब्जनी हुने जमिन बाँझिएर जंगल बनेका छन् । सरकारी बजेट रित्ता गाउँतिर खर्च भएका छन् भने अधिकांश नागरिकहरु बसाईं सरेर सहरतिर झरेका छन् ।
हेर्दै आकर्षक रैथाने सीप र प्रविधिको प्रयोग गरी बनाइएका आकर्षक ग्रामीण घर रित्ता छन् । फराकिलो आँगनमा बाख्लो झारको साम्राज्य छ । पिँढी र कौसी भत्किन थालेका छन् । घरको धुरीबलो मक्किन थालेको छ । बालबालिकाको कोलाहल सुनिन छोडेको धेरै भयो । गाउँको सौन्दर्यलाई चटक्कै बिर्सेर घरमुली बसाइँ सरेपछि अहिले पाल्पाका धेरै गाउँ एक्लिएका छन् । गाउँका घरधुरी घरमुली फर्केर आउँछन् की भनेर कुरिरहेकाजस्ता देखिन्छन् ।
पुरै गाउँ रित्तो
माथागढी गाउँपालिका वडा नं. १ को चिदीपानीको बरपोखरी, समपोखरी, नयाँचौपारी भाटकटेरी, जन्याहाखोला, अधमारा, बुढीकोट बनकट्टा काफ्लेटोल, अँगाहाखोलाको तल्लो रुमालडाँडालगाएतका स्थान बाट मात्र ३०० बढी बढी घरधुरी गाउँ छाडेर हिँडेका छन् । पहिले सबैले खेति गर्थे, गाउँमा उब्जनी थियो, गाउँ नै रमाईलो थियो । अहिले सबै अन्यत्र बसाईं सरे, गाउँ रित्तो छ । साविक वडा नं. ८ र ९ को डुम्रिचौरमा त एक घर पनी नरहेर बस्ती नै खाली भएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।
अधिकांश स्थानीय तहले ग्रामिण क्षेत्रमा सडक, पुर्वाधार, शिक्षा, स्वास्थ्यलगाएतका क्षेत्रमा बजेट विनियोजन गरेका छन् तर ग्रामिण क्षेत्रमा उपभोक्ता समितिमा बस्ने मानिस समेत पाईन छाडेको माथागढी वडा नं. १ का वडाध्यक्ष पन्थीले बताउनुभयो । प्राय सबै गाउँपालिकाको जनसंख्या घट्दो रहेको छ ।
पाल्पाको जनसंख्या घट्दो
दश वर्षको अवधिमा पाल्पाको जनसंख्या १६ हजार बढीले घटेको छ । वि.स.२०६८ सालको जनगणना अनुसार जिल्लामा कूल दुई लाख ६१ हजार १८० रहेकोमा २०७८ को जनगणनामा १६ हजार १३४ ले घटेको हो ।
तथ्याङ्क अनुसार अहिले पाल्पाको जनसंख्या दुई लाख ४५ हजार २७ रहेको जिल्ला तथ्याङ्क कार्यालय पाल्पाले जनाएको छ । २०६८ को जनगणना अनुसार माथागढीमा २५ हजार १७ जना थिए भने २०७९ को जनगणना अनुसार घटेर २४ हजार ५३ पुगेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो ।
दश वर्षको अबधिमा पाल्पामा सबैभन्दा धेरै निस्दी गाउँपालिकाको जनसंख्या घटेको छ । जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख लेखनाथ पाण्डेयका अनुसार २०६८ मा निस्दीको जनसंख्या २२ हजार ६११ रहेकोमा हाल १८ हजार १२० मा झरेको हो ।
पूर्वखोलामा १९ हजार ५८९ बाट घटेर १६ हजार ५२ पुगेको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयो । यस्तै रैनादेवी छहराको जनसंख्या २६ हजार ४६९ बाट घटेर २३ हजार १४९ मात्र रहेको छ । यस्तै रम्भा गाउँपालिकाको २० हजार १९० बाट घटेर १७ हजार १५५ पुगेको तथ्यांक कार्यालय पाल्पाले जनाएको छ । तिनाउको जनसंख्यामा दश वर्षअघि १९ हजार ८५ रहेकोमा हाल १७ हजार ७७७ मा झरेको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बगनासकालीको जनसंख्या २१ हजार ३६१ बाट घटेर १८ हजार ४९७ पुगेको छ । यस्तै रिब्दीकोटमा १८ हजार ७७० बाट घटेर १५ हजार ४७३ पुगेको छ । तानसेनको दश वर्षअघिको तुलनामा ३८७ जना मात्रै बढेको छ । तानसेनमा बस्ती विकास हुने स्थान अभावका कारण जनसंख्या घटेको बताइएको छ ।
सहरतिर बसाइँसराइ गर्ने बढे
खाडी या अन्य मुलुकमा गएर आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ बुटवल, भैरहवा, पोखरा, चितवन र काठमाडौँलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको छ । शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको संख्या बढ्दै गएको नागरिकको भनाई छ ।
गाउँ युवा र बालबालिकाविहीन हुने अवस्थामा पुग्न थालेका छन् भने घर खाली र खेतबारी बाँझो रहने समस्या बढ्दै जानुको साथै संस्कृति र परम्परासमेत लोप हुने अवस्थामा पुगेपछि ग्रामीण भेगका पाका नागरिक चिन्तित हुन थालेका छन् । वैदेशिक रोजगारको कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन रहेको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।