
विजयकुमार बौडेल –
६ भाद्र – पाल्पा अस्पतालमा विहान ८ बजेदेखी ओपिडी सेवा सञ्चालन भएको छ । अस्पतालले बिरामीको चापलाई व्यवस्थापन गर्न र जतिसक्दो धेरै नागरिकलाई सेवा दिने उद्देश्यले विहान ८ बजेदेखी साँझ ५ बजे सम्म ओपिडी सेवा सञ्चालन गरेको हो ।
पाल्पा अस्पतालले फार्मेसी व्यवस्थापन गरि पर्याप्त औषधि सहित नयाँ स्थानमा सन्चालन, ओपिडि व्यवस्थापन तथा डाक्टर थप, ल्याबमा सेवा र जनशक्ति थप गरि प्रभावकारी डिजिटल रिपोर्ट, भर्ना बिरामीलाई एम्बुलेन्स सेवा निशुल्क, रेडियोलोजिष्ट लगायतका विशेषज्ञ सेवा थप, शौचालय निर्माण तथा व्यवस्थापन जस्ता नयाँ काम गरेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । उहाँले अस्पताललाई बिरामीमैत्री बनाएर सबै नागरिकले सहज रुपमा सेवा लिन पाउने गरी कर्मचारी तथा भौतिक व्यवस्थापन गरिएको बताउनुभयो ।
त्यस्तै अस्पताल परिसरमा बिरामी प्रतिक्षालय निर्माण तथा व्यवस्थापन, अक्सिजन प्लाण्टबाट बिक्री मुल्य समायोजन, ५ सय ५ रुपैंयामा ठुलो सिलिन्डरको व्यवस्था र अन्य अस्पताललाई बेचि आम्दानी बृद्धी, जग्गा प्राप्तिका लागि पहल, निर्णयको नजिक, उपकरण र कर्मचारी व्यवस्थापन, विमा दाबी व्यवस्थापन गरि आम्दानी बृद्धी, फोहोर व्यवस्थापनलगाएतका थप काम भएको छ ।
अस्पताल विकास समितिको नेतृत्वमा अध्यक्ष आत्रेय आएपछी धेरै सुधारका काम भएको सरोकारवालाले बताएका छन् । पाल्पा अस्पतालले जिल्लाका राजनैतिक दल र पत्रकारसँग गरेको छलफलमा सहभागिले पाल्पा अस्पताल सुधार हुँदै गएको बताएका हुन् ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट विवेक भण्डारीले वीमा सेवालाई प्रभावकारी बनाउन काम भइरहेको र निकट भविष्यमा सेवालाई थप विस्तार गर्ने योजना गरेको उल्लेख गर्नुभयो । छलफल कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका कार्यबहाक अध्यक्ष झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र विश्वकर्मा, राप्रपाका प्रतिनिधि, रास्वपाका उपसभापति सुमन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, माधव अर्याल, कृष्ण पोखरेललगायतले बोल्नुभएको थियो ।
छलफलमा सहभागीले अस्पतालको भवन निर्माणलाई प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले अस्पताल निर्माणका लागि बजेट विनियोजन भइसकेको अवस्थामा तत्काल जग्गाको व्यवस्थापन गरी भवन बनाउन सुझाव दिएका थिए । अस्पतालले आगामी दिनमा नयाँ स्तरिय भवन निर्माण, विशेषज्ञ डाक्टर र सेवा थप, अप्रेसन कक्ष र स्तरीय ल्याब निर्माण, छिमेकी अस्पताल संग सहकार्य प्रयास, एम्बुलेन्स थप जस्ता काम गर्ने योजना रहेको अस्पताल विकास समितिका अध्यक्ष आत्रेयले बताउनुभयो ।
अस्पताल सुधार भएपछी भर्ना हुने विरामीको दर बढेको अस्पतालले जनाएको छ । अहिले दिनहु जसो अस्पतालको बेड भर्ना विरामीले फुल हुने गरेको छ ।