विजयकुमार बौडेल –
३१ साउन – तानसेन नगरपालिकाले टुँडिखेल खेलमैदानमा नगर प्रहरी परिचालन गरेर प्रवेशमा रोक लगाएको छ । नगरपालिकाले बर्खाको पानीले दुबो कुहिन थालेपछि थप क्षती हुन नदिन नगर प्रहरी परिचालन गरेर प्रवेशमा रोक लगाएको हो ।
भर्खरै लगाएको बर्मुडा दुबो अत्याधिक पानीका कारण कुहिन थालेको छ । टुँडिखेलमा खेल्ने, बस्ने, कसरत गर्ने, फोहर फ्याँक्नेलगाएतका कामले टुँडिखेलको अवस्था झन नाजुक बन्दै गएको छ । नगरपालिकाले दुबो संरक्षणका लागि पटक पटक प्रवेशमा रोक लगाएपनि अटेर गरेका कारण नगर प्रहरी परिचालन गर्नुपरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
टुँडिखेल खेलमैदान निर्माणका लागि नगरपालिकाले ठुलो लगानी गरेको भन्दै त्यसको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । “यसको संरक्षण गरेमा भोलीका दिनमा हामी सबैले उपयोग गर्न पाईन्छ ।” प्रवक्ता कार्कीले भन्नुभयो, “अहिले बर्षाको सिजनमा कलिलो दुबोमाथी उफ्रिने, खेल्ने गरेपछी नोक्सानी हुन्छ । राज्यको ठुलो लगानी बचाउन सबै लाग्नुपर्यो ।” टुँडिखेल खेलमैदान पुर्ण रुपमा तयार भईसकेपछि खुल्ला गरिने समेत कार्कीले बताउनुभयो ।
केहि समय अघि टुँडिखेल खेलमैदानमा पाल्पा गोल्ड कप सञ्चालन भएको थियो । त्यतिबेला खुल्ला गरिएको मैदानमा पुनः प्रवेश रोक लगाउन नगरपालिकालाई हम्मे हम्मे परेको थियो । अहिले पनि खेलाडिहरुले मैदानमा अभ्यास गर्न पाउनुपर्ने बताएका छन् । प्रवेश नगर्न पटक पटक गरेको आग्रह नमानेपछि नगरपालिकाले नगर प्रहरी लगाएर प्रवेशमा रोक लगाएको हो ।