पाल्पा, असार २६ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन थप मजबुत भएर अघि बढ्ने बताउनुभएको छ । काङ्ग्रेस, माओवादी, समाजवादी र अन्य दलहरू मिलेर सरकारको स्थायित्वको बारेमा छलफल गरेर एकमता साथ अघि बढ्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा मङ्गलबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको उल्लेख गर्नुभयो । समाजवादी मोर्चा विचार मिल्ने पार्टीहरूका बीचमा भएको र त्यसले सरकार र पार्टीहरूलाई फाइदा गर्ने नेपालको भनाई छ । त्यसमा कांग्रेसको समेत सहमति रहेको उहाँले बताउनुभयो ।
वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र कारबाही गर्ने कार्य गरेकोमा प्रशंसा गर्नुहुँदै उहाँले भ्रष्टाचारका दोषी उम्कन नहुने बताउनुभयो । “भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन उहाँले भन्नुभयो । “म र हाम्रो पार्टी भ्रष्टाचार बिरोधी अभियानमा साथ दिन तयार छौँ, यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।”
ललिता निवासमा आफ्नो नाम जोडिनु स्वभाविक भएको बताउँदै आफू प्रधानमन्त्री हुँदा सरकारी जग्गा हो वा होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्न निर्णय गरेको बताउनुभयो । त्यो निर्णय बिपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? उहाँले प्रश्न गर्नुभयो ।
कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा भन्दा पनि नियत र त्यसबाट फाइदा लिने गिरोहका मानिसलाई हेरेर निर्णय गर्नुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाई छ । उहाँले नेपाल ट्रष्टका जग्गादेखि सरकारी जग्गाको समेत छानविन गरेर भ्रष्टाचारीलाई सरकारले कारबाही गर्छ भन्ने आशा जनतामा संचार गर्नुपर्ने उहाँले बताउनुभयो ।
ललिता निवास मात्र होइन अन्य भ्रष्टाचारका मुद्दामा पनि सरकारले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।