तानसेनकाे मेलाबाट ३ जनालाई रोजगार प्राप्त, ३०० बढी सुचिकृत

विजयकुमार बौडेल
१२ जेठ – स्विस सरकारको सहयोग, तानसेन नगरपालिकाको आयोजना र हेल्भेटास नेपालको सहयोगमा तानसेनमा रोजगार मेला सञ्चालन भएको छ ।

मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य वीर बहादुर रानाले काम तथा शिक्षाको सिलसिलामा नेपालबाट धेरै युवा जनशक्ति बाहिरिरहेको अवस्थामा यहाँका उद्योग तथा कार्यालयमा कामको लागि बाहिरबाट ल्याउनु पर्ने जनशक्ति यहिबाट पूर्ती गर्न सकियो भने उद्योगी व्यवसायीलाई पनि सहज हुने बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले आन्तरिक रोजगारीमा प्रवर्धन गर्नको लागि मेला फलदायी भएको बताउनुभयो । खनालले सीप, श्रम र रोजगारी सबैको अधिकार भएको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले शिक्षाको लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेको बताउनु भयो । उहाले यो क्रम रोकिएन भने नेपालको उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउने बताउनुभयो ।


तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले रोजगार मेला गरिएको बताउनुभयो । महिला, अनौपचारिक अर्थतन्त्रका कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरुको सीप अभिबृद्धि, स्वदेशमै कामको खोजीमा रहेका तथा बैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरु एवं रोजगारदाता सम्पर्क गरी रोजगारी प्रबर्दन गर्ने उद्देश्यले रोजगारदाताहरु समेतको सहभागितामा मेला सञ्चालन गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो ।


मेलाकै अवसरमा ३ जनाले रोजगारी प्राप्त गरेका छन् । सहभागी संस्थाहरुले ३ जनालाई आफ्नो क्षमताको आधारमा रोजगारी प्रदान गरेका हुन् । मेलामा ३ सय बढी रोजगारीका लागि विभिन्न संस्था र प्रतिष्ठानमा सुचिकृत भएका छन् भने तालिमका लागि १ सय ४५ जनाले फर्म भरेको तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो । मेलामा नाटा पाल्पा अन्र्तगत फ्लाई तानसेनले एक जना र पाल्पा टुर एण्ड ट्राभलले २ जनालाई रोजगारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय