पुर्वखोलाको हेक्लाङ्गमा सुरक्षित गर्भपतन सेवा सुरु

विजयकुमार बौडेल

९ जेठ – सुरक्षित गर्भपतनको शहर केन्द्रित सेवा अब गाउँमै फैलिँदैछ । औषधिमार्फत् सुरक्षित गर्भपतन गराउने सेवा जिल्लाको गाउँस्तरमै विस्तार भएको हो । ग्रामीण क्षेत्रका सेवाग्राहीले गर्भपतनका निम्ति शहर धाउनुपर्ने बाध्यता अन्त्य गर्न पुर्वखोलाको हेक्लाङ्गमा यो सेवा सुरु भएको छ ।

यसबाट तोकिएका स्वास्थ्य संस्थामा १० हप्तासम्मको गर्भपतन गराउन पाइनेछ । सदरमुकामका सीमित स्वास्थ्य संस्थामा मात्रै उपलव्ध गर्भपतन सेवा अब गाउँलेको पायक पर्ने हेक्लाङ्ग स्वास्थ्य चौकीसम्मै पु¥याइएको छ । यसअघि सदरमुकामका जिल्ला अस्पताल र परिवार नियोजन संघलगाएतमा मात्रै गर्भपतन सेवा उपलब्ध हुँदै आएको थियो ।

पुर्वखोला गाउँपालिका वडा नं. ६ हेक्लाङ्गमा स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रमका अवसरमा सुरक्षित गर्भपतन सेवा समेत सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । स्वास्थ्य चौकीमा सञ्चालित गर्भपतन सेवा ग्रामिण क्षेत्रका नागरिकहरुका लागि प्रभावकारी हुने प्रमुख ढकालले बताए ।

ज्यान जोखिममा पर्ने गरी असुरक्षित गर्भपतन गराउने यो क्रम न्युनीकरण गर्न हेक्लाङ्गको यो सेवा सार्थक बन्ने अपेक्षा गरेको प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले बताए । आचार्यले स्थानीय सरकार महिलाहरुको स्वास्थ्य प्रति सचेत रहेको भन्दै पुर्वखोलाले जिम्मेवार स्थानीय तहको भुमिका प्रस्तुत गरेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य खेम बहादुर सारुले ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य सम्बन्धी धेरै बाध्यात्मक समस्या रहेको भन्दै हेक्लाङ्गमा सुरु भएको सुरक्षित गर्भपतन सेवाले यहाँका महिलालाई सहज हुने बताए । सारुले महिलाहरुलाई नहिच्किचाईकन सुरक्षित रुपमा सेवा लिन र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको प्रतिफल लिन आग्रह गरे ।

सन्तानको चाहना नहुँदा नहुँदै गर्भ रहन पुगेका महिला स्वास्थ्य चौकीमा आएर सुरक्षित गर्भपतन गराउन सक्ने अवसर प्राप्त भएको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताए । थापाले नाफामूलक नभएर सेवामूलक सुविधा भएको भन्दै गर्भपतन गर्नुपर्ने अवस्थामा पुगेकालाई भरपर्दो सुविधा दिनु मुख्य लक्ष्य भएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय