९ जेठ – नेपालको कृषि अर्थतन्त्रमा धान एक महत्वपूर्ण खाद्यान्नका रूपमा स्थापित छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार देशको कुल गार्हस्थ्य उत्पादनको धानले मात्र ७% ओगटेको छ भने कृषि ग्राहस्थ्य उत्पादनमा २०% ओगटेको छ ।
करिब ९२% धान खेती असारमा अर्थात बर्खेका रूपमा गरिँदै आएको छ भने करिब ७% चैतेका रूपमा र १% जाडो मौसम अर्थात माघको अन्तिममा रोपिँदै आएको छ । विशेषगरी पहाडको खोँच वा बेसी जहाँ पर्याप्त सिँचाइ हुन्छ, चाडबाडको खर्च जुटाउने हेतुले निरन्तर चैते धान लगाएपनि असारको जस्तो चर्चा सुनिँदैन ।
चैत दिन लामो र रात छोटो हुने महीना हो । आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालीको हरित कणमार्फत बालीले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुन्छ । आकाशमा कम बादल र बढी सुक्खा हुने भएकाले रोगको समस्या पनि कम हुन्छ । चैते धानको ब्याड फागुन महिनाको दोस्रो सातासम्म राख्नुपर्ने हुँदा यस महिनामा मध्यपहाड र उच्चपहाडमा तापक्रम १०–२०से हुन्छ । अझ बेलुकाको र बिहानको समयमा ४–०से सम्म घट्ने हुन्छ । बाहिर तापक्रम कमी भएकाले बेर्ना नउम्रने, उम्रन ढिला गर्ने र उम्रेको पनि रोग,कीराको चाँडै सिकार हुने हुन्छ । यस समस्या समाधान गर्न गुमोजमा बेर्ना उमार्नुपर्छ । गुमोजभित्र तापक्रम चाहिएअनुसार उच्च स्थिर बनाउन सकिन्छ । जसले गर्दा बेर्नाको विकास छिटो हुने र रोपाइ अलिक छिटो गर्न सकिन्छ ।
बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउँदै आइरहेको छ । बर्खे धान भन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिँचाइको कमीले किसानहरू आकर्षित हुन नसकेका हुन्। चाहिएको समयमा मलखादको व्यवस्था मिलाउन नसक्दा पनि सोचेअनुरूपको उत्पादन हासिल गर्न नसकिएको हो। कतिपय ठाउँमा सिँचाइ नहरको व्यवस्था भए पनि कृषिमा व्यावसायिकरूपमा लाग्न नसक्नु,भएका सिँचाइ नहरको मर्मत संहारमा सरोकारवाला निकाय मौन रहनु, निर्वाहका लागि बर्खेले नै पुग्नु, किसानहरू चैते धान खेतीमा आकर्षित नहुनुका अरू कारण हुन् ।
पशुपालनका हिसाबले गाईवस्तुलाई चाहिने परालको उत्पादनका लागि पनि चैते धानको महत्व विगतमा धेरै थियो तर अहिले बर्सिम, टिवसेंटी,नेपियर जस्ता घाँसका जातको बाक्लो आकर्षणले परालको महत्व बुझेर चैते धान लगाउनेको संख्यामा निकै कमी आएको हो ।
चैते धान समयमै रोपेर मलखाद र पानी व्यवस्थापन गर्न सक्दा बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ । विशेषसगरी चैते धान भित्राउँदा पानी पर्ने, किसान बेफुर्सदिला हुने,पानी परिरहने र घाममा राम्रोसँग सुकाउन नसकिने हुँदा किसानले त्यति जागर गर्दैनन् । चैते धानलाई विचार गरी धान सुकाउने प्राविधिको व्यवस्था गरिदिँदा केही हदसम्म उत्पादनमा जोड पुग्छ। जेठको अन्तिम वा असार मध्यमा काटिने यो धान सुकाउन, विशेषगरी सुकाउने मेसिनको व्यवस्था गर्नुपर्ने देखिन्छ । किसानले चैते धान असारमा भित्र्याउन भ्याइ/नभ्याइ भएर आवश्यक सुकाइ गर्न नसक्ने हुँदा धानलाई अर्को वर्षका लागि बिउका रूपमा प्रयोग गर्न सकेका छैनन् ।
अन्ततः सिँचित जमिन, समृद्ध किसानको कार्यदिशामा कृषिलाई डोराउन सकियो भने मात्र पनि छिट्टै नै खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ ।