तानसेनमा बहालबिटौरी कर मार्फत ३ महिनामा डेढ लाख बढी राजश्व

विजयकुमार बौडेल

६ जेठ – तानसेन नगरपालिकाले अव्यवस्थीत भौतिक संरचनाको बहाल विटौरी कर मार्फत ३ महिनामा डेढ लाख बढी राजश्व संकलन गरेको छ ।

तानसेन नगरपालिका क्षेत्र भित्र सार्वजनिक स्थल, राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र स्थानीय सडक सिमा भित्र नगरपालिकाको स्विकृती नलिई बनाईएका भौतिक संरचनाको बहाल विटौरी कर मार्फत राजश्व उठाईएको हो । तानसेनको नगरसभाले कुनै व्यक्ति या संघ, संस्थाले आफ्नो मनोमानी ढंगले भौतिक संरचना निर्माण गरि उपभोग गरिरहेकाहरु संग बहाल विटौरी कर असुली गर्न तानसेन नगरपालिकाले आर्थिक ऐन २०७९ संशोधन विधेयक पास गरेको थियो । यस अवधिमा १ लाख ६७ हजार १ सय ७१ रुपैयाँ वहाल बिटौरीकर संकलन भएको नगरपालिकाले जनाएको छ ।

“कुनै न कुनै रुपले हामीले उनीहरुलाई सेवा, सुविधा दिईराखेका छौं । त्यसैले हामीले उनीहरुलाई करको दायरामा ल्याउनको लागी प्रयास गरेका हौं ।” तानसेन नगरपालिकाका कार्यबाहक नगरप्रमुख यादव सिंह कार्कीले भन्नुभयो, “सबै नागरिकलाई सेवा दिएर सबै नागरिक मार्फत सेवा अनुसारको कर लिने अभ्यास हामीले सुरु गरेका छौं । यस मार्फत कम्तिमा १० देखी १५ लाख रुपैंया सम्म हामीले नगरपालिकाको आन्तरिक आम्दानीमा थप गर्न सक्छौं भन्ने अपेक्षा छ ।”

नगरपालिकाले व्यक्ति वा संस्थाले आफ्नो मनोमानी ढंगले सार्वजनिक स्थल तथा सडक मिची आवासको रुपमा प्रयोग गरेका अस्थायी कच्ची टहराको प्रति वर्गफुट बार्षिक २ रुपैंया, कच्ची भवन प्रति वर्गफुट २ रुपैंया ५० पैसा, आरसिसि भवन प्रति वर्गफुट ४ रुपैंया, आल्मुनियम फलाम टिनले बनाएको संरचना प्रति वर्गफुट ४ रुपैंया कर लिएको हो ।

त्यस्तै व्यवसायिक प्रयोजनमा प्रयोग भएका अस्थायी कच्ची टहराको प्रति वर्गफुट बार्षिक ३ रुपैंया, कच्ची भवन प्रति वर्गफुट ३ रुपैंया ५० पैसा, आरसिसि भवन प्रति वर्गफुट ५ रुपैंया, आल्मुनियम फलाम टिनले बनाएको संरचना प्रति वर्गफुट ५ रुपैंया कर लिएको हो । संरचना नभएका तर खेती तथा अन्य प्रयोजनमा प्रयोग भएका जग्गाहरुको बार्षिक प्रतिरोपनी ५ सय रुपैंया लिईएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय