हेक्लाङ्ग स्वास्थ्य चौकी भवन उद्घाटन

विजयकुमार बौडेल

९ जेठ – पुर्वखोला गाउँपालिका वडा नं. ६ को हेक्लाङ्गमा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।

प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्य र प्रदेशसभा सदस्य खेम बहादुर सारुले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । भवन निर्माणका लागि १ करोड ७ लाख ४६ हजार ८ सय ३६ रुपैंयामा २०७७ माघ १८ गते ठेक्का सम्झौता भएको थियो । २०७९ जेठ २० गते सम्पन्न हुनुपर्ने भवन कोभिडका कारण म्याद थप गरिएको थियो । भवन निर्माणका लागि संघिय सरकारको ७५ लाख, जिल्ला समन्वय समितिको ३० लाख र गाउँपालिकाको २५ लाख रुपैंया बजेट विनियोजन भएको थियो । त्यस्तै भवन मर्मतका लागि ५ लाख रुपैंया विनियोजन गरिएको छ ।

भवन उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य आचार्यले भौतिक संरचना निर्माण र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले पुर्वखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नमुना काम गरेको बताउदै निर्माण भएका संरचनाको संरक्षणमा स्थानीय आफै चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सारुले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु देखिनै पुुर्वखोला गाउँपालिका लागिपरेको बताउनुभयो । सारुले जनअपेक्षा अनुसारको राम्रो शिक्षा र स्वास्थ्यमा सुधार अझै भई नसकेको भन्दै गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि प्रदेश सरकारले समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

“विगतमा भवन नहुँदा बिरामीले ठूलै सास्ती पाएका थिए । घामपानी, हावाहुरी, कठ्यांग्रिदो जाडो झेल्दाको पीडा व्यक्त गरेर साध्य छैन ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भन्नुभयो, “अब बिरामीले स्तरीय सेवा पाउनेछन् । स्वास्थ्यकर्मी कर्मचारी, सेवाग्राही सबैलाई पनि ठूलो राहत मिलेको छ ।”

कार्यक्रममा भेला भएका स्थानीय नागरिकहरु स्थानीय क्षेत्रमा गुणस्तरिय सेवा सहितको स्वास्थ्य चौकी भवन पाएपछी उत्साहित भएका छन् । स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि स्वास्थ्य स्वंयसेविकाहरु पनि हर्षित भएका छन् । बिरामीलाई स्वास्थ्य जाँच गर्न जाऔं भन्न पनि सजिलो भएको स्वास्थ्य स्वयम्सेविकाहरुले बताएका छन् ।

“हामीलाई अत्यन्तै गर्व लागेको छ । विभिन्न कठिनाइ सहेर पनि हामीले योजनाअनुसार काम गर्न सक्यौं र यसबाट तपाईंहरूलाई राहत मिल्छ भन्ने विश्वास पनि गरेका छौं”, गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले भन्नुभयो । “अब यसलाई सचेतपूर्वक उपयोग गर्नुहोस् । हामी सदैव यस्ता काम गर्ने कोसिसमा हुनेछौं । तपाईंहरुको सेवाका लागि कुनै भौतिक पुर्वाधारका कारणले रोकिने छैन ।” स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयले गरेको सहयोगलाई सकारात्मक रूपमा लिएको र स्थानीय सरकार पनि स्वास्थ्य चौकी भवन र्निर्माणमा सक्रिय भएर लागेको अध्यक्ष थापाले बताउनुभयो ।

कार्यक्रमका अवसरमा पालिकाले स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क जग्गा दान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र, खादा र मालाले सम्मान गरेको छ । त्यस्तै स्वास्थ्य चौकीमा बच्चाको नियमित तौल जाँच गर्न आउने आमा तथा बच्चाहरुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री प्रदान गरिएको छ ।

स्वास्थ्य चौकी भवनको उद्घाटन संगै हेक्लाङ्गलाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा तथा सुरक्षित गर्भपतन सेवाको सुरुवात समेत गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई, विभिन्न राजनैतिक दलका प्रतिनिधी, वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, स्थानीय सरोकारवालाहरु लगाएतले स्वास्थ्य चौकी भवन उद्घाटन हुनु हेक्लाङ्गबासीहरुका लागि खुसीको कुरा भएको बताएका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय