पुर्वखोलामा सुर्तीजन्य पदार्थ न्यूनिकरण सम्बन्धी अभिमुखिकरण

विजयकुमार बौडेल

७ जेठ – पुर्वखोला गाउँपालिका वडा नं. २ मा सुर्तीजन्य पदार्थ न्यूनीकरण तथा जुनोटिक रोग, AMR सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नं. २ मा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । स्वास्थ्यकर्मी तथा सरोकारवालाहरु बीच अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले युवा, महिला तथा बालबालिकालाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा पर्ने नकारात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिवृद्धि गर्न, सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले सहभागीलाई धूम्रपान तथा सुर्ती सेवन गर्न छाडे हृदयाघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने, मुख, दाँत, गिजा स्वस्थ रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषयबारे जानकारी दिनुभयो । कार्यक्रममा डाक्टर शिशिर कुमार पटेलले जुनोटिक तथा सरुवा रोगको बारेमा सहजिकरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष निर बहादुर सारुले सुर्तीजन्य पदार्थको नियन्त्रणको प्रयास यस अघि गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमकै अवसरमा गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ६ जना स्वास्थ्यकर्मीहरु बढुवा भएकोमा सम्मान समेत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय