विजयकुमार बौडेल –
२ जेठ – माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा ५ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
वडा नं. १ चिदीपानीको आर्थिक सहयोग र दलित समन्वय समितिको आयोजनामा तालिम सुरु भएको हो । दलित समुदायका महिला तथा यूवाहरुको मागका आधारमा तालिम सञ्चालन गरिएके वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । पन्थीले समाजमा रहेका विभिन्न घटना, परिघटना, योजना तथा कार्यक्रमहरु समाचार मार्फत नागरिकलाई सुचित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा सहजकर्ता पत्रकार नेत्र गैरेले पत्रकारिताको महत्व, समाचार लेखन शैली, समाचारले समाजमा पार्ने प्रभावबारे सहजिकरण गर्नुभयो । तालिम सञ्चालनको लागि वडा कार्यालयले एक लाख रुपैंया बजेट विनियोजन गरेको वडा सदस्य लिला विकले जानकारी दिनुभयो ।
कार्यक्रममा दलित समन्वय समितिकी अध्यक्ष उजेला विकले यूवाहरुलाई पत्रकारिता मार्फत समाजको विकृति र विसंगतीका विषयबस्तुको उठान गरि समाधान तर्फ पहल गर्न तालिमले सहयोग पुर्याउने बताउनुभयो । तालिममा सहभागी मानसी सुनारले समाजका विभिन्न समस्या र विकासका कुरा समाचार मार्फत उजागर गर्न पत्रकारिताको आवश्यकता भएको बताउनुभयो । सुनारले पत्रकारिता क्षेत्र नै आफ्नो भविश्यको कार्यक्षेत्र बनाउने प्रण गर्दै थप सहयोग र सहजीकरणको अपेक्षा गर्नुभयो ।
तालिम यही जेठ ६ गते सम्म सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।