विजयकुमार बौडेल –
२३ बैशाख – माथागढी गाउँपालिका वडा नं. ३ कसेनी सराईमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले अस्थाई प्रहरी चौकीको उद्घाटन गर्नुभयो ।
प्रहरी चौकीको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य आचार्यले माथागढी क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । आचार्यले अस्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गर्दै स्थानीय, प्रदेश र संघिय सरकारको समन्वयमा प्रहरी चौकीको भौतिक पूर्वाधारजस्ता काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पाल्पा क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य खेम बहादुर सारुले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । शान्ति, सुरक्षा र अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुनुपर्ने सारुले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक हेरम्ब शर्माले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिक दक्षता देखाउनुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले चौकी स्थापनाले गाउँपालिका भित्रको सुरक्षा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना भएको बताउँदै अध्यक्ष चिदीले जनता र स्थानीय सरकार सधै प्रहरीको साथमा रहने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने बताउनुभयो । अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै कसेनीका नागरिक निकै खुशी भएका रानाले बताउनुभयो । रानाले वडामा सामान्य झैझगडाका घटना भए पनि नागरिकले प्रभाष, तानसेन गएर उजुरी गर्नुपर्ने बाध्यता भएको भन्दै र अब उक्त समस्या समाधान भएको बताउनुभयो ।
चौकी स्थापनापछि माथागढी गाउँपालिकाको सराई, खहरे, रुप्से, चिदीपानी, तानसेन नगरपालिकाको दमकडा, तिन्टीआँपलगाएतका जनताले सेवा पाउने वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीले बताउनुभयो । अहिले उक्त चौकीमा ६ जना प्रहरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएको छ ।