यम्घाका वडाध्यक्षको मिलेमतोमा अवैध गिट्टीबालुवा चोरी भएको स्थानीयको आरोप

१९ बैशाख – बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटमा भएको अवैध नदीजन्य पदार्थ चोरी निकासीका विषयमा गाउँपालिकाले स्थलगत अनुगमन गरेर जिल्ला समन्वय समितिलाई प्रतिवेदन बुझाएको छ ।

विभिन्न कारणले बन्द रहेको घाटक्षेत्रबाट वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीकै मिलेमतोमा अवैध रुपमा नदी जन्य प्रर्दाथको चोरी निकासी भएको स्थानीयवासीको गुनासोका आधारमा जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा गाउँपालिकाले अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खराल र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, प्रवक्ता टीकाबहादुर थापा, प्राविधिक र पत्रकार सहितको टोलीले घाटको अनुगमन गरेको हो । अनुगमनको प्रतिवेदन गाउँपालिकाले जिल्ला समन्वय समितिमा पठाएको छ ।

अनुगमनमा अवैध रुपमा बन्द रहेको घाटबाट गिट्टी, बालुवा ४० टेक्टर र जगल क्षेत्रबाट १५ टेक्टर ढुङ्गा अवैध रुपमा निकासी गरी डम्पीङ्ग गरेको भेटिएको गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार घाटबाट मनोमानी रुपमा नदीजन्य प्रदान उठाएर योजनाको काममा प्रयोग गरेको भेटिएको जानकारी दिनुभयो । यसका साथै निकासी गरेर अन्यन्त्र तीन स्थानमा जम्मा गरी राखेको अवस्थामा भेटिएको प्रवक्ता थापाले बताउनुभयो ।

नदी कटानको असर, पक्की पुन निर्माणको क्षेत्रका साथै बगनासकाली बृहत लिफ्टिंग खानेपानी आयोजनाको मुहान क्षेत्र भएकोले यसको ५ सय मिटर वरिपरी उत्खलन गर्न नमिल्ने भएकोले नदीजन्य प्रदान निकासी गर्न गाउँपालिकाले रोक लगाएको छ । रोक लगाएको क्षेत्रबाट सञ्चालनमा रहेका योजना, बस्ती प्रभावित हुनेगरी भएको चोरी निकासीमा वडाध्यक्षको मिलेमतो हुनु गम्भीर कुरा रहेको स्थानीयवासी शिव अधिकारीले बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्यांकन नभएको र वडामा प्रदेश सरकार मार्फत प्राप्त २० लाखको मोटबाटो स्तरोन्नतिको योजनामा समेत अवैध रुपमा निकासी गरेर ल्याइएको गिट्टी, बालुवा र ढुङ्गा प्रयोग भएको बताउनुभयो ।

स्थानीयवासीले योजनाको ठेक्का अरुकै फर्मलाई परेको भएपनि वडाध्यक्षले आफ्नो रोहबरमा काम गराएको बताएका छन् । वडाध्यक्ष अधिकारीले भने स्थानीयवासीको आरोपलाई अस्वीकार गर्नुभएको छ । उहाँले विगतका समयमा स्थानीयरुपमा हुने निर्माण कार्यमा प्रयोग हुनेगरेको भएपनि अहिले त्यस्तो काम नभएको बताउनुभयो । अबैध कामको बढावा दिने काम आफुबाट नहुने वडाध्यक्ष अधिकारीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जिल्ला स्थित अनुगमन समितिलाई अनुगमन गरिदिन प्रतिवेदन सहित अनुरोध गरेकाले यथासिघ्र अनुगमन गरि आवश्यक प्रक्रिया अघि बढाईने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय