विजयकुमार बौडेल –
१९ बैशाख – पाल्पा महोत्सव २०८० मा आयोजकले आफ्नै लोगो अंकित पानी बिक्रि वितरण गरेको छ ।
आयोजक पाल्पा उद्योग वाणिज्य संघले महोत्सव स्थलमा आफ्नै लोगो अंकित पानी बिक्रि वितरण गरेको हो । आयोजकले पाल्पा उद्योग वाणिज्य संघ र १३ औं पाल्पा महोत्सवको लोगो खानेपानीको बोतलमा प्रयोग गरेको हो । पाल्पाको पहिचान र महोत्सवको प्रचारप्रसारका लागि पानी कोबोतलमा लोगो प्रयोग गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बताउनुभयो । आफ्नै लोगो अंकित एक हजार प्याकेट पानी उत्पादन गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । आयोजकले व्यापारीलाई २ सय २० रुपैंया प्रति प्याकेट पानी बिक्रि गरेको छ भने अवलोकनकर्तालाई एक बोतलको ३० रुपैंया पर्दछ ।
१३ औं पाल्पा महोत्सव तानसेनको टुँडीखेलमा चलिरहेको छ । गएको विहीबारदेखि सुरु भएको महोत्सव २४ गतेसम्म चल्ने छ । महोत्सवमा महिला उद्यमी, घरेलु तथा कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका होटल, अटोमोबाइल्स र फेन्सीलगायतका करिव ३ सय भन्दा बढी स्टल रहेका छन् । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । करिव ५ वर्षपछि टृुँडिखेल मैदानमा लागेको महोत्सव हेर्न आउने र्दशकको घुँईचो लागेको प्रचार प्रसार उपसमितिका संयोजक बिदुर घिमिरेले बताउनुभयो ।
जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरणका साथै राष्ट्रिय तथा बहुराष्ट्रिय उत्पादनको प्रदर्शनीले पछिल्लो समय देखा परेको आर्थिक कारोबारको अवस्था चलायमान बन्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवले पाल्पाको आर्थिक तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने किसिमका सास्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मनोरञ्जन गराउन दैनिक रुपमा विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति राख्ने गरिएको प्रचार प्रसार समितिका संयोजक घिमिरेले जानकारी दिनुभयो ।