विजयकुमार बौडेल –
१३ बैशाख – पाल्पा महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।
२ सय ८० स्टल सहभागी हुने महोत्सवलाई आकर्षक र सफल बनाउन स्थानीय र राष्ट्रिय कलाकारको प्रत्येक दिन प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । यही बैशाख १४ गतेदेखी २४ गते सम्म आयोजना हुन लागेको पाल्पा महोत्सव २०८० मा पाल्पालाई करुवा र ढाका बाहेक अदुवाको जिल्लाको रुपमा थप चिनाउन मिल्ने विश्वास लिईएको छ ।
१३ औं संस्करणको रुपमा हुन लागेको यस महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्रि, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी समेत गरिने प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले जानकारी दिनुभयो । घिमिरेले महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनी गरिने समेत बताउनुभयो ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो माबाईल्सका स्टल र नेवारी तथा मगरि खानाका परिकारहरु समेत रहने बताउनुभयो । भट्टराईले पाल्पाली उद्यमी व्यवसायीले प्रत्यक्ष रुपमा सहभागितात्मक व्यवस्थापनद्धारा आफ्ना आन्तरिक उत्पादनलाई बजारीकरण गर्न सहज हुने विश्वास लिने बताउनुभयो ।
महोत्सवको भोली १४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।