जे सुनिन्छ त्यो सत्य हुँदैन, जे आफैले अनुभूत गरिन्छ त्यो मात्रै सत्य हुन्छ भन्ने कुरा साच्चै हो रहेछ । केपी ओली प्रतिको मेरो धारणा मिडियामा उहाँलाई जसरी चिनँे निर्भीक, निडर हुँदा हँुदै पनि अहम्ता धेरै नै हो कि जस्तो लाग्थ्यो त्यसैले त्यति चासो पनि राख्दिनथँे । जब पछि पछि उहाँको निर्भिक राष्ट्रप्रेमी अडान, विरोधीसँगको टक्कर र आफूले गरेका हरेक कामहरुलाई तथ्यगत प्रमाणित गर्ने उहाँको व्यवहारले मेरो मन तान्यो र प्रत्यक्ष भेट्ने चाहना मिसन ग्रासरुट अभियानको क्रममा पूरा भयो ।
मिसन ग्रासरुट अभियान अन्तर्गत हामी तानसेन ६ बर्तुङमा जाँदै थियाँैं । पार्टी अध्यक्ष धनेन्द्रसरलाई प्रदिप कमरेडको फोन आयो । “अध्यक्ष ज्यू पाल्पा, गुल्मी अर्घाखाँची जाने भन्नुभाछ कार्यक्रम मिलाउन प¥यो” कपिलबस्तु हुदै अर्घाखाँची, गुल्मी र पाल्पा सम्म गाडीमा आउने कुरा सुनेर हामीसँगै हुनुभएका खिमलाल दाईले पहाडको बाटो ज्यानले के सक्ला भनेर शंका मान्नु भयो । केपी ओली आफैले चाहे पछि असम्भव भन्ने कुरा केही हँुदैन भन्दै हामी पनि हाम्रो मिसन ग्रासरुट अझ चम्काउनु पर्छ भनेर उत्साहित हँुदै आफ्नो काममा लागियो । मिति २०७९।१२।१४ गते भूमिगत कालमा राजनीति गरेको लुम्बिनी घुम्न आउने अध्यक्षको कार्यक्रम छोपेर हामीले दमकडामा भव्य जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न गरियो ।
हामीलाई समेत थकाउने बाटो चार ओटा मृगौला भएको मान्छे के गरी आउने होला भनेर आशंका गरी बसेका हामीहरुलाई भने अर्घाखाँची र गुल्मीका महत्वपूर्ण स्थानको भ्रमण गर्दै त्यो चोक चोकमा झरेर कार्यकता र शुभचिन्तकसंग फोटो खिचाउँदै बाटोमा पर्ने सबै पर्यटकीय गन्तव्यहरुको महिमा बताउँदै दमकडा खेल मैदानमा भएको कार्यक्रमलाई सम्बोधन गर्न आईपुग्दा म भित्रको युवापनले आफैलाई गिज्याइरहेको होकी जस्तो लागिरहेको थियो ।
व्यवस्थित र भव्य कार्यक्रम पछि साँझ श्रीनगर होटलको सानो बसाईमा सहभागी भइयो । पार्टी संचालनमा उहाँले दिएको सुझाव र कार्यकर्ता प्रतिको बिश्लेषणले उहाँको विद्वत्ता झल्किरहेको थियो । बसाईको क्रममा झपेन्द्र जिसी कमरेडसंगको कुरामा उहाँले दर्शाउनुभएको ज्ञानले बल्ल बुझेँ, त्यसै केपि ओली बिरुद्ध सबैदल एकजुट भएका रहेनछन् । समकालीन नेतामा केपी ओलीको जस्तो क्षमता कुनै नेतामा पनि छैन । जुनसुकै विषयमा उत्कृष्ट दख्खल राख्ने उहाँको विद्वत्तालेनै यस्तो विषम परिस्थितिमा पनि नेकपा एमाले लोकप्रिय मतमा पहिलो भएको छ । उहाँ प्रतिको क्रेज हेर्दा मैले सोचे भन्दा धेरै फरक व्यक्तित्व पाएँ ।
रानीमहल यात्राको लागि केपि ओलीको पछिपछि हामी पनि रानीमहल हिड्यौँ । २०५१ सालमा विष्णु पौडेलले जितेपछि घोषणा गरी योजना पार्न थालेको बतासे रानीमहल बाटो अहिले पिच भएको छ । वीस पच्चिस गाडी सरर जाँदा रौनक नै फरक भयो । अवल पुग्दा अध्यक्ष ओलीले यहीको माटोको इटाले रानीमहल दरबार बनाएको कुरा बताउनुभयो तर पर्यटन नचिनेको हाम्रो स्थानीय सरकारले अवलमा त्यस्तो कुनै जानकारी दिने बोर्ड समेत राखेको छ्रैन । पर्यटक आउनु र जानु ठूलो कुरा होइन तर उनीहरुलाइ कति दिन भुलाउन सकिन्छ, त्यो ठुलो कुरा हो । मान्छे भुले भने वा भुल्ने स्थान भयो भने झर्छन्, हेर्छन्, खान्छन्, बस्छन् सबैको व्यापार हुन्छ ।
धेरै स्थान हँुदा धेरैको व्यवसाय र जिविका चल्छ र मात्रै पर्यटक आएको स्थानीयलाई फाईदा हुन्छ । साथै घुम्न आउनेले पनि धेरै स्थान घुम्न पाउँदा धेरै आनन्द लिन सक्छन्, यो पर्यटनको सामान्य ज्ञान हो । शिक्षा, स्वास्थ र पर्यटनको नारा भनेर नथाक्ने यहाँका अगुवाहरुले बोल्दा बोल्दै यी तीनैकुरा सकिन लाग्यो । यसका लागि कुनै फलदायी बैठक, योजना वा बजेट विनियोजन भएको मेसो पाइएको छैन ।
अध्यक्षलाई सायद यो कुरा थाहा थिएन । हामीले बताउने कुरा पनि भएन । अलि तल हात्ती ढुङ्गा पुगियो धन्न यहाँ अध्यक्षको गाडी रोकिएन । हात्तीकोे आकारको ठुलो ढुङ्गा भएकाले यस स्थानलाई हात्ती ढुङ्गा भनिएको हो तर अहिले बाटो बनाउँदा यो हात्तीढुङ्गा छेउतिर मिल्किएको छ । यो भन्दा सानो ढुङ्गा भारतले कालिगण्डकी देखि पूजा गर्दै गर्दै भारत पुर्र्याएर साक्षात् राम भगवान् गराईसक्यो तर वार्षिक अरब बढिको बजेट बनाउने नगर सरकारले दुई लाख तिरेर अझ राम्रो आकार दिने र दुईलाखको हात्ती ढुङ्गा वरिपरि रेलिङ्ग मात्रै लगाउन सकेको भए कति राम्रो पर्यटकिय स्थल बन्ने थियो ।
त्यही चढाएको पैसाले एक वर्षमै लगानी उठाउने थियो । रानीमहल जाँदा एउटा उत्कृष्ट सेल्फी प्वाइन्ट बन्ने थियो त्यसको वरिपरि विष पच्चीस पसल चल्ने थियो जसबाट प्रत्यक्ष सयांै जनाको जिविकोपार्जन हुने थियो । यो त एउटा उदाहरण मात्र प्रत्येक वर्ष तानसेनको जनसंख्या घट्दो छ । तानसेनको सिमाना चर्चरेमा बस्ने हो भने प्रत्येक दिनजसो झिटीझाम्टा बोलेरोमा राखेर बसाई सर्ने देखिन्छ । बसाई नसरुन् पनि कसरी भत्काउन जान्ने नगरपालिका टुडिखेल देखि शीत्तलपाटी पनि पुग्न सकेको छैन । अझै हात्ती ढुङ्गा कसरी पुगोस् । गाढी अगाडी बढ्दै थियो, बैकुन्ठे झरना आयो । आयो गयो कसैले मैसै पाएनन् । पाउन् पनि कसरी त्यो बेला बनेको यो झरना ।
त्यो बेलाका कालिगढ वा अहिलेका इन्जिनियर जसले भिरमा झुण्डीएर आरीले ढुङ्गा काटेर बनाएको कुलो र त्यसबाट आएको पानीको झरना हेर्दा जति मनमोहक छ त्यसको इतिहास अझै गर्बिलो छ । तर कुरा उही हो रानीमहल जाने कसैले त्यसको भानमात्रै पनि पाएनन् धेरै गर्न नसके रातीमा पानी संगालेर दिनमा त्यो झरनाबाट आउने मात्रै गराए वा त्यसको लागी थोरै ध्यान दिए पनि अर्को उत्कृष्ट सेल्फी प्वाईन्ट बन्ने थियो । आशा गरौं नगरपालिकाले तानसेनको एतिहासिकता र सांस्कृतिक मर्म बुझ्ने र प्रत्येक स्थान पर्यटकको लागि गन्तव्य बनाउने नेतृत्व पाउने छ । तानसेनका प्रत्येक घर दिनदिनै आन्तरिक वा बाह्य पर्यटकले भरिने छ ।
सम्झदा सम्झदै रानीमहल पुगियो । अध्यक्ष ओलीसँगै हामीलाई छुट्टै आनन्द आयो । नेकपा एमाले पर्यटन विभागले अध्यक्षलाई रानीमहलको फोटो हस्तान्तरण गर्दै मन्तव्य राख्न लगायो । अध्यक्ष ओलीले धन्यवाद सहित बताउनुभयो । यो दरबार रानी तेजकुमारीको सम्झनामा बनेको हो । त्यसैले यसको नाम तेज महल हो । सम्झे भारतको ताज महल हाम्रो तेज महल यसरी पनि उस्तै रैछ । अध्यक्षको विज्ञता त्यत्तिमा मात्र रोकिने वाला थिएन । पाल्पा वा तानसेनको चप्पा चप्पा जानकार छु भन्नेहरुलाई अगाडि राखेर उहाँले दिनुभएको जानकारीले हामी मन्त्रमुग्ध भयांै । अब शुरु भयो फोटो शेसन ।
गणतन्त्रमा जनताले पाएको अधिकारनै फोटो खिच्न र सामाजिक सञ्जालमा लेख्न त हो । अझै रानीमहलमा जाँदा फोटो नखिच्ने सायदै दुई खुट्टाले उभिएको मानिस हुन्न । उहाँलाई अरुले खिचेको फोटोले मजा लागेन आफै क्यामरा खोल्दै श्रीमती राधीका शाक्यसंग सेल्फी लिनुभयो जुन अहिले भाईरल छ । पाल्पाली ढाकाको कोट लगाएर रानीमहलमा लिएको सेल्फी साच्चै ओलीको मात्रै होइन रानीमहलको पनि अहिलेसम्मकै राम्रो फोटो बन्यो । यो सेल्फी आफैमा भाइरल मात्रै होइन कि यो फोटोको उपलब्धि यस वर्षको पहिलो दिन अघिल्लो वर्षको भन्दा डबल पर्यटक आए । त्यतिमात्रै होइन दिनदिनै आउने पर्यटकको सख्या पनि उल्लेख्यरुपमा बढेको छ ।
झाडी भित्र रहेको रानीमहल एमाले नेता प्रदिप नेपालले युवा संघका साथीहरुलाई लगेर झाडीबाट निकालेर प्रचार गरेका थिए । प्रदिप नेपालले राष्ट्रिय मिडियामा लेख लेखेर यसको महिमा लोकसामु ल्याएका थिए र यसको पुननिर्माणका लागि बजेटको व्यवस्थापन हुन थालेको थियो । मुख्यमन्त्री रहँदा शंकर पोखरेलले नयाँ वर्ष रानीमहलमा आएर मनाउनुभएको थियो । अहिले राष्ट्रिय सेलीब्रेटी नेता केपी ओलीको भ्रमणले फेरि यसको व्यापक प्रचार गरेको छ । जङ्गलको बाटो उत्तरबाहिनी कालीगण्डकीको तटमा बिशाल पत्थरमाथि बनेको साचो प्रेमको प्रतिक रानीमहल जीवनमा एकपटक नपुगे उसको जीवन अवस्य व्यर्थ जानेछ ।