विजयकुमार बौडेल –
४ चैत्र – स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएपछी घरदैलोमै सेवा पाउँदा तानसेन ९ का नागरिक खुसी भएका छन् ।
नागरिकलाई परेको बेला घरमै आएर जनप्रतिनिधीले सेवा दिँदा तानसेन ९ का नागरिक खुसी भएका हुन् । सबै नागरिकको घरमा गएर सेवा दिन सम्भव नभएपनी अशक्त र अति आवश्यक नागरिकहरुको घरमै गएर सेवा दिने गरेको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । वडाध्यक्ष अर्यालले नियमित सेवा प्रवाह र विकास निर्माणमा जनपक्षीय सुधारको थालनी गरेको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधिसहित कर्मचारीमार्फत दैनिक कार्य सञ्चालन बाहेक वडावासीको हितमा नयाँ कामको थालनी भएको छ ।
“जनताको घरदैलोमा पुगेर गुनासो तथा पीरमर्का सुन्नेदेखि माथिल्लो निकायमा पुगेर थप बजेट ल्याउनको लागी गरिएको पहललाई नयाँ कामको रुपमा उल्लेख गरेका छौँ ।” उहाँले भन्नुभयो, “विभिन्न कठिनाइका बीच सुरुआतको दिनको कार्यसम्पादन सन्तोषजनक भएकाले आगामी दिनमा यो स्पिड अझै बढाउछौँ ।”
वडाध्यक्ष अर्यालले फोनकै भरमा पनी ग्रामिण क्षेत्रमा पुगेर अशक्तहरुलाई सेवा दिईएको बताउनुभयो । बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने काम पनि वडाका विभिन्न ४ स्थानमा गरिन लागेको वडा सदस्य माधव बस्यालले जानकारी दिनुभयो । पशु सेवा केन्द्रमार्फत् तानसेन ९ को टोल टोल र घरगोठमै पुगेर बाख्राहरूलाई पिपिआर खोप समेत दिईएको वडा सदस्य बस्यालले बताउनुभयो ।
वडाको प्रशासनिक कार्यदेखि सेवाग्रहीमैत्री वातावरणको निर्माण र सुशासन कायम गराउन गरिएका प्रयास र भएका सुधारलाई जनप्रतिनिधिको सक्षम नेतृत्वको रुपमा लिनुपर्ने तानसेन ९ की कल्पना भण्डारीको भनाइ छ । भण्डारीले घरदैलोमै गएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरि औषधी वितरण समेत गरेकोमा वडालाई धन्यवाद व्यक्त गर्नुभयो ।