विजयकुमार बौडेल –
३ बैशाख – तानसेन टुँडिखेलमा हुन गईरहेको १३ औं पाल्पा महोत्सव २०८० को तयारी भईरहेको आयोजकले जनाएको छ ।
यही बैशाख १४ गतेदेखी २४ गते सम्म तानसेन ६ टुँडिखेलमा आयोजना हुन लागेको पाल्पा महोत्सवको तयारी भईरहेको आयोजक पाल्पा उद्योग वाणिज्य संघले जनाएको हो । डुँडिखेलमा अहिले स्टल निर्माणको काम भईरहेको छ । करिब ३०० स्टल निर्माण गरिने र प्रति स्टलको मुल्य ७ हजार देखी ४० हजार रुपैंया सम्म रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मात्र आयोजना गरेको नभनी सबैको साथ र सहयोगको अपेक्षा गरेको पाल्पा उदोग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक शैलेन्द्र भट्टराईले बताउनुभयो । भट्टराईले पाल्पाको गहना टुँडिखेलमा रोपिएको दुवोको संरक्षण गर्दै महोत्सव सञ्चालन गरिने बताउनुभयो ।
टुँडिखेलमा महोत्सव आयोजना गरिने भन्ने वित्तिकै त्यहाँ रहेको दुबो मासिने हो कि भन्दै धेरै नागरिकहरुले चासो देखाएका थिए । सामाजिक सञ्जाल र चोकहरमा लाखौं खर्चेर रोपिएको दुबो मासेर महोत्सव आयोजना गर्न हुन्न भन्ने चर्चा निकै चल्यो । तर आयोजकले दुबो मासेर होईन, संरक्षण गर्दै महोत्सव सञ्चालन गर्ने बताएको छ । टुँडिखेलमा दुवो रोपिएको स्थानलाई टिनले बारेर राखिएको छ ।
टिनले बारेर महोत्सव समयभर दुबो रोपिएको स्थानमा जान नमिल्ने गरि सजगता अपनाएको तानसेन नगरपालिकाका सुचना अधिकारी भरत प्रसाद आचार्यले बताउनुभयो ।