२७ चैत्र – लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघीयताको महत्व भनेको नै प्रदेश सरकार भएको बताएका छन् । पाल्पाको तानसेन नगरपालिकाका जनप्रतिनिधिहरूसँग कानुन र विकास निर्माण बारे अन्तरक्रिया गर्दै सभामुख घर्तीले प्रदेश सरकार नै संघीयताको गहना भएको बताएका हुन् ।
स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, त्यसको अवस्था, सुधार गर्नुपर्ने विषयमा प्रदेश सभामुख घर्तीसंग जनप्रतिनिधिहरूसंग अन्तरक्रिया गरेका हुन् । उनले कानुन निर्माण गर्न जनशक्ति र क्षमताको अभाव रहेको समेत बताए ।
कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको सरकार भएपनि लौरो र हतियार बीनाको प्रहरी जस्तो भएको बताए । उनले, तीन तहका सरकारले बनाएका ऐन, कानुनहरु एकआपसमा बाझिने अवस्था आउन नदिन सबैलाइ जानकारी हुने संयन्त्रको विकास गर्नु आवश्यक रहेको बताए ।
तानसेन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेनमा ३० ऐन, ४८ कार्यविधि गरि जम्मा ७८ कानून निर्माण भएको बताए । हामी कानुन केन्द्रबाट आएको ड्राफ्टलाइ हेरेर बनाउने गर्दछौं, स्थानीय आवश्यकता र औचित्यताका आधारमा गर्न प्रक्रियागतदेखि जनशक्तिसम्मका समस्याहरू छन् । स्थानीय सरकारलाइ नीतिगत समस्याको समाधान गर्न तथा विकासका लागि प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।