परियार समाज गुठी पाल्पाले स्वर्ण महोत्सव मनाउँदै

विजयकुमार बौडेल

२७ चैत्र – परियार समाज गुठी पाल्पाले स्वर्ण महोत्सव मनाउने भएको छ । समाजले आफ्नो स्थापनाको ५० औं बर्षका अवसरमा स्वर्ण महोत्सव मनाउने भएको हो ।

गुठिले तानसेनमा पत्रकार भेटघाट गरि स्वर्ण महोत्सव मनाउने जनाएको हो । मृत्यू संस्कारलाई व्यवस्थित गर्न र खर्च कम गर्न २०२९ सालमा स्थापना भएको गुठी २०३४ साल सम्म मृत्यू संस्कार समितिको रुपमा नामबाट सञ्चालित थियो । ५७ घरधुरीले प्रतिपरिवार १० रुपैंया उठाएर सुरु गरिएको गुठीमा अहिले ८२ घरपरिवार सदस्य रहेका समितिका अध्यक्ष तिर्थ गौतमले जानकारी दिनुभयो ।

गुठीका कोही सदस्यकोमृत्यू भएमा गुठीले अहिले ३० हजार रुपैंया दिने गर्दछ । हरेक घरधुरीले अहिले न्यूनतम १ सय ५ रुपैंया घाटखर्च दिने प्रचलन रहेको छ । गुठीको ५० औं बर्षलाई उत्सवको रुपमा मनाउन थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । गौतमले परियार समाजको स्थापना गर्ने अग्रजहरुलाई सम्मान व्यक्त गर्दै उहाँहरुको राजनैतिक आन्दोलनमा भूमिका, योगदानलगाएतका बिषय चर्चामा आउन नसकेको बताउनुभयो ।

गुठीले सदस्यहरुसंग निश्चित रकम उठाउने, न्यूनतम ब्याजदरमा लगानी गर्ने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्ने काम समेत गर्दै आईरहेको छ । स्वर्ण महोत्सवका अवसरमा दमाई जातीका देशभरका ३ जना संघिय सांसद, ४ जना प्रदेश सांसद, उच्च पदस्थ व्यक्तिहरु पाल्पा आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यसै अवसरमा विभिन्न सामाजिक व्यक्तित्व, सामाजिक अभियन्ताहरुलाई समेत सम्मान गरिने समाजका सचिव सुजन कार्कीले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले महोत्सवको शुभकामना व्यक्त गर्नुभयो । उहाँले गुठी स्थापना समयदेखि हालसम्म गरेको कामको प्रशंसा गर्दै अन्य समुदायले पनि असल अभ्यासको सिको गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा २०२९ सालदेखी गुठीको पदाधिकारीको रुपमा काम गर्ने ७५ जना व्यक्तिलाई समेत सम्मान गरिने छ । स्वर्ण महोत्सवमा नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता सन्तोष परियार, गायक शिव परियारलगाएतको उपस्थिती रहने आयोजकले जनाएको छ । स्वर्ण महोत्सवका अवसरमा मंगलबार तानसेनको श्रीनगरमा गुठी पुजा गर्ने कार्यक्रम रहेको छ भने बुधबार बिहान झाँकी र्यालीसहित तानसेन नगरपालिकाको सभाहलमा स्वर्ण महोत्सवको उद्घाटन, पुर्नमिलन, बार्षिक प्रतिवेदन प्रस्तुत, सम्मान र सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय