रिब्दीकोटमा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

विजयकुमार बौडेल

२६ चैत्र – रिब्दीकोट गाउँपालिका अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ५ नैटोलामा प्रतियोगिताको लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती वसन्तले उद्घाटन गर्नुभएको छ ।

रिब्दीकोट गाउँपालिकामा पहिलो पटक अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घर्तीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । घर्तीले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताउनुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य लिला सोमैले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष कप भलिबल प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले खेलकुदसँग सोझै जोडिएको कुरो देशको इज्जत भएको भन्दै खेलकुद र देश विकासमा समानुपातिक सम्बन्ध भएको बताउनुभयो । अध्यक्ष कार्कीले संसारका धेरैजसो खेलकुदमा राम्रो गर्ने देशहरु सबैजसो विकसित देश भएकाले विकसित देशमा सरकारले खेलकुदमा राम्रो लगानी गरेको र रिब्दीकोट गाउँपालिकाले पनी खेलकुदलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझी, प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल, वडाध्यक्षहरु चिरञ्जिवी पोखरेल, मन बहादुर अस्लामीलगाएतले पदक पाउनका लागि भन्दा पनि आफ्नो स्वास्थ्य राम्रो राख्नका लागि सबैले सानातिना भए पनि खेलकुदमा भाग लिइराख्नुपर्ने विषयमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय