
विजयकुमार बौडेल –
२६ चैत्र – रिब्दीकोट गाउँपालिकाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त संग कानुन र विकास निर्माण बारे अन्तरक्रिया गरेको छ ।
गाउँपालिकाले स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, त्यसको अवस्था, सुधार गर्नुपर्ने विषयलगाएतका विषयमा प्रदेश सभामुख घर्तीसंग अन्तरक्रिया गरेको हो । गाउँकार्यपालिका, वडाध्यक्षहरु, विषयगत शाखाका कर्मचारीलगाएतले सभामुखसंग कानुन र विकास निर्माण बारे अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियामा लुम्बिनी प्रदेश सभामुख घर्तीले स्थानीय तहको कानुन निर्माण प्राथमिकतामा नपरेको बताउनुभयो । घर्तीले स्थानीय तहले कानुन निर्माण गर्ने जिम्मा कर्मचारीलाई दिएको भन्दै कर्मचारीले निर्माण गरेको कानुन सभा बाट पास गर्ने काम मात्र गरेको बताउनुभयो । घर्तीले स्थानीय तहमा कानुन निर्माण संग सम्बन्धित विज्ञहरु नभएकोले समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको शक्तिसाली सरकार भएपनी त्यसको भरपुर प्रयोग गर्न भने नसकिएको बताउनुभयो । कार्कीले स्थानीय तह, प्रदेश र संघिय सरकारले बनाएका ऐन, कानुनहरु एकआपसलाई नै थाहा नभएको भन्दै त्यसलाई दाँज्ने काम गर्नुपर्ने बताउनुभयो । कार्कीले रिब्दीकोट गाउँपालिकामा विभिन्न ५९ वटा ऐन र कार्यविधि निर्माण भएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्थानीय तहका नीतिगत समस्या प्रदेश संसद समक्ष पुर्यान सभामुखलाई अनुरोध गर्नुभयो । अधिकारीले रिब्दीकोटको विकासका लागी प्रदेश सरकार समक्ष समन्वयात्मक भुमिका निर्वाह गर्न समेत अनुरोध गनुृभयो । कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ का वडाध्यक्ष चिरञ्जिवी पोखरेलले स्थानीय तहका योजनाहरु लामो समय सम्म पुरा नहुने अवस्था भएको भन्दै त्यसका कारण स्थानीय क्षेत्रमा भएको राज्यको लगानी खेर गईरहेको बताउनुभयो ।