
विजयकुमार बौडेल –
२४ चैत्र – प्रेस चौतारी नेपाल, तानसेन शाखाका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।
चौतारी कार्यालय तानसेनमा बसेको पहिलो बैठकसंगै पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको हो । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विकले पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो । बैठकमा विकले तानसेन नगर कमिटिमा महिलाहरु मात्र नेतृत्वमा आउनु देशकै नमुना कार्य भएको बताउनुभयो । विकले तानसेन शाखाका सदस्यले संचारमाध्यममार्फत जिल्लाका विभिन्न विषय उठान गर्न र संगठनको काममा पनी दत्तचित्त भएर अघि बढ्न अनुरोध गर्नुभयो ।
बैठकमा प्रेस चौतारी नेपाल, पाल्पाका निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्य राजेन्द्र लिगलले तानसेन नगर कमिटिमा सक्रिय सदस्यहरु आवद्ध भएको भन्दै जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा जिल्ला अध्यक्ष कृष्ण कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, सुचनाको हक र सामाजिक उत्तरदायित्वसहितको मर्यादित र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति सधै प्रतिवद्ध रहन सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
बैठकले सदस्यता विस्तार, हरेक ३/३ महिनामा बैठक बस्ने, समाचार लेखनमा वृद्धि गर्नेलगायतका विषयमा निर्णय गरेको छ । त्यस्तै बैठकले तानसेन शाखा गठन गर्न सहयोग पुर्याउने निर्वाचन कमिटिलाई धन्यवाद समेत व्यक्त गरेको छ । बैठक प्रेस चौतारी नेपाल, तानसेन शाखाकी उपाध्यक्ष सिर्जना कार्कीको स्वागत, सचिव पवित्रा पराजुलीको सञ्चालन र अध्यक्ष गुणवती केसीको अध्यक्षतामा सम्पन्न भएको हो ।