झपक्कै फुल्यो आँप

विजयकुमार बौडेल

१५ चैत्र – यस बर्ष पाल्पामा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ ।

फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तानसेन ९ का बिर बहादुर रुचालले भने, ‘यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।’

आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको रिब्दीकोट २ का किसान धनमाया सुनारले बताईन । ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ’,उनले भनिन्, ‘आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।’

यस वर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको कृषि प्राविधिक उम बहादुर बौडेलले बताए । ‘फूल फुल्ने विरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ’,उनले भने, ‘यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’

असिना,पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्याधिक वृद्धि हुने उनको भनाइ छ । आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने उनले बताए ।

आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय