योजना अनुगमन तिव्र पार्दै माथागढी गाउँपालिका

विजयकुमार बौडेल

१२ चैत्र – माथागढी गाउँपालिकाले योजना अनुगमनको कामलाई तिव्र पारेको छ । पालिकाले ८ वटै वडामा सञ्चालित योजनाहरुको अनुगमन तिव्र पारेको हो ।

गाउँपालिकामा सञ्चालित करिब ३ सय ५० योजनामध्ये ९० प्रतिशत योजनाहरु सम्झौता भई काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । ज्ञवालीले सबैजसो योजनाहरु सम्झौता गर्ने प्रक्रियामा रहेको र सञ्चालन भईरहेका योजनाहरुको अनुगमन समेत गरिएको बताउनुभयो ।

अनुगमन समितिकी संयोजक तथा पालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले योजना सम्पन्न भएपछी मात्र नभई योजना सञ्चालन भईरहेको अवस्थामा पनी पालिकाको तर्फबाट नियमित रुपमा अनुगमन भएको बताउनुभयो । लुङ्चेले योजना सम्पन्न भईसकेपछी अनुगमन गर्दा केही सुझावहरु दिन मिल्ने तर त्यसको कार्यान्वयन नहुने भएकाले पालिकाले योजना अनुगमनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । माथागढी गाउँपालिका वडा नं. २ रुप्से बोक्सादीको बिरौटा मोटरबाटो स्तरोन्नती योजनाको अनुगमन गर्दै उपाध्यक्ष लुङ्चेले ग्रामिण क्षेत्रमा जनश्रमदानको राम्रो अभ्यास भएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष धन बहादुर सारुले स्टिमेट अनुसारको भुगोल नहुँदा उपभोक्ताहरुलाई काम गर्न अप्ठेरो भएको बताउनुभयो । अध्यक्ष सारुले स्टिमेट अनुसार काम गर्न खोजेको भएपनी कडा चट्टान भएकाले मेसिनले काम गर्न नसकेको र योजना अलपत्र हुने अवस्थामा पुगेको बताउनुभयो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले उपभोक्ताहरुलाई मर्का नपर्ने गरि समाधान खोजिने बताउनुभयो ।

गाउँपालिकाका प्राविधिक तथा साईट ईन्चार्ज सन्तोष कार्कीले गाउँपालिका, जनप्रतिनीधि, कर्मचारी र उपभोक्ता समुह सबै मिलेर योजना सम्पन्न गर्ने बताउनुभयो । कार्कीले पहाडी क्षेत्रका धेरैजसो योजनाहरुमा केही प्राविधिक समस्याहरु आउने गरेको बताउँदै उपभोक्ता समितिलाई ढुक्क भएर काम गर्न अनुरोध गर्नुभयो ।

वडा नं. २ का वडाध्यक्ष बोम बहादुर ठाडा मगरले अप्ठेरो भुगोलका कारण पालिकाको दररेटमा काम गर्न उपभोक्ता समितिलाई गाह्रो भएको बताउनुभयो । अध्यक्ष ठाडाले पालिकाको तर्फबाट अनुगमन हुँदा कार्यसम्पादन गर्न सहज भएको समेत बताउनुभयो । ठाडाले अनुगमन पश्चात विभिन्न समस्याको समाधान निस्कने हुँदा पालिकाबाट आएको अनुगमन टोलीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय